बुटवल । १० वर्षअघि प्रेमविवाहमा बाँधिएकाे एक जोडीबिचको विवाद ज्यान जाने तहसम्म पुगेको छ । प्रहरीका अनुसार विवादपछि श्रीमतीलाई कुटी–कुटी श्रीमानले हत्या गरेर घरकै भान्साकोठामा गाडेको शव चार दिनपछि फेला परेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार श्रीमान्–श्रीमतीको विवाद भएकोमा श्रीमानले बाँसको लाठी तथा हँसियाको पछाडिको भागले शरीरको विभिन्न भागमा हानी श्रीमतीको हत्या गरेको तथ्य खुलेकोे हो ।
प्युठान नौबहिनी गाउँपालिका– १ स्याउलीबाङबाट आठ वर्षअघि अर्घाखाँची छत्रदेव गाउँपालिका– ४ पातलेपोखरामा आएर बसोबास गर्दै आएका ३६ वर्षका किरण गुरुङले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । किरणले ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङको हत्या गरेको प्रहरीको भनाइ छ ।
नाै वर्षकी छोरी सरु गुरुङसँगै बस्दै आएका उनीहरूमध्ये सुमित्रालाई चार–पाँच दिनदेखि छरछिमेक तथा माइती पक्षले नदेखेपछि हराएको भनी प्रहरीमा खबर गरेका थिए । प्रहरी चौकी बल्कोटमा खोजतलासका लागि मौखिक उजुरीपछि प्रहरीले खोजतलास तथा अनुसन्धान अगाडि बढाएको थियो । यही भदौ १२ गते श्रीमान्–श्रीमतीबिच विवाद भएकोमा किरणले सोही दिन बाँसको लाठी तथा हँसियाको पछाडिको भागले शरीरको विभिन्न भागमा हानी हत्या गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।
जिप्रका अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार शव कम्बलमा पोको पारी आफ्नै घरको भान्साकोठामा खाडल खनी गाडेको अवस्थामा फेला परेको थियो। मृतकको लास सडेर गन्ध आएको अवस्थामा फेला पारी सोमबार राति प्रहरी टोलीले उत्खनन गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाएको छ । प्रहरीले किरण गुरुङलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेर ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।
किरण र सुमित्राको १० वर्षअङि प्रेम सम्बन्ध भई विवाह भएको थियो । दुवैको यो विवाह दोस्राे थियो । उनीहरूको एक नाै वर्षकी छोरी छिन् । किरणको पूर्वश्रीमतीतर्फ दुई छोरी रहेका छन् ।
सुमित्राको पूर्वश्रीमानतर्फका तीन छोरा रहेका छन् ।
यही भदौ ११ गते पातलेपोखरास्थित भजनकीर्तनको कार्यक्रममा उपस्थित भई करिब साढे ११ बजे निज किरण घरतर्फ गएकोमा रातको करिब १२ बजे श्रीमतीको हत्या गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सो समयमा किरणले मादक पदार्थ सेवन गरेको पनि प्रहरीको भनाइ छ ।
प्रहरीले बाँसको लाठी एक, हँसिया एक, गैँची एक, बेल्चा एक, सानो कोदालो एक, रक्सीको खाली बोतल १, भरी बोतल थान एक थान बरामद गरेको जनाएको छ ।