वीरगञ्ज । हैजाको प्रकोप र पानीको अभावबारे खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत गुनासो गर्ने क्रममा युवती किरण साह पक्राउ परेपछि त्यसको समर्थन र विरोधमा सडक आन्दोलन चुलिएको छ। सोमबार पीडित पक्षले युवतीको रिहाइको माग गर्दै प्रदर्शन गरेपछि मंगलबार मन्त्रीका समर्थकहरूले वीरगञ्जमा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी महिला समूहले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडि नाराबाजी गर्दै किरण साहमाथि कारबाहीको माग गरेका हुन्। प्रदर्शनकारीहरूको भनाइ अनुसार, किरणले जनस्वास्थ्य संकटको बेला जनप्रतिनिधिहरूमाथि धम्कीपूर्ण शब्द प्रयोग गरेकी थिइन्।
नेपाल खानेपानी संस्थानका सदस्य तथा जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य सल्मा खातुन र मधुमाला यादवको अगुवाइमा प्रदर्शन भएको थियो। खातुन पोखरिया नगरपालिकाकी पूर्व उप–प्रमुख समेत हुन्।
प्रदर्शनकारीहरूले आरोप लगाएका छन् कि किरण साहले हैजा नियन्त्रणका लागि सक्रिय नेताहरूलाई व्यक्तिगत आक्षेपसहित धम्की दिएकी हुन्। अडियो सार्वजनिक भएपछि उनलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको हो। साहमाथि ज्यान मार्ने धम्की दिएको आरोप समेत लगाइएको छ।
यस घटनाले अहिले जनस्वास्थ्य, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र जनप्रतिनिधिको जवाफदेहितामाथि सार्वजनिक बहस चर्काएको छ।
एकातर्फ नागरिकले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा प्रश्न गर्दा कारबाहीको चपेटामा परिरहेका छन् भने अर्कोतर्फ जनप्रतिनिधिहरूको बचाउमा सडकमा समर्थन प्रदर्शन भइरहेको देखिएको छ।
समाजिक सञ्जालदेखि सार्वजनिक चियापसलसम्म यो विषय बहसको केन्द्र बनेको छ — सरकार नागरिकको गुनासो सुन्ने कि आलोचना दमन गर्ने?