वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले हैजा र झाडापखाला सङ्क्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको भन्दै कक्षा ८ माथिका कक्षाहरू सञ्चालन गर्न अनुमति दिएको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले पहिलो चरणमा कक्षा ८ माथिका कक्षाहरू सुचारु गर्ने र अवस्था हेरेर तल्ला कक्षाहरू सञ्चालनको अनुमति दिने निर्णय भएको बताए ।
लामिछानेका अनुसार, सामुदायिक र निजी विद्यालयका सञ्चालकहरूसँगको छलफलपछि स्वास्थ्य सतर्कता अपनाउँदै कक्षा सञ्चालनको अनुमति दिइएको हो ।
विद्यालयहरूलाई वास (पानी, सरसफाइ र स्वच्छता) फोकल पर्सन तोक्न, खानेपानीको शुद्धता सुनिश्चित गर्न, बाहिरी खानेकुरामा नियन्त्रण गर्न र सङ्क्रमणको लक्षण देखिएका विद्यार्थीको जानकारी महानगरलाई दिन निर्देशन दिइएको छ ।
वीरगञ्जमा हैजाको सङ्क्रमण देखिएपछि महानगरले भदौ ८ देख १७ गतेसम्म विभिन्न चरणमा विद्यालयहरू बन्द गरेको थियो । तर, सङ्क्रमण नियन्त्रणमा आउँदै गएको र लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा असर परेको भन्दै निर्णय लिइएको हो ।
महानगरको स्वास्थ्य शाखाका अनुसार पछिल्लो २४ घण्टामा केवल ५ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने झाडापखालाका कारण ३७ जना अस्पताल भर्ना भएका छन् । हालसम्म १८० जनामा हैजा पुष्टि भएकोमा १६९ जना निको भएर घर फर्किएका छन् । मङ्गलवारसम्म ८४३ जना उपचारपछि स्वास्थ्य भएर घर फर्किएका छन् भने ७० जनाको उपचार जारी छ ।
नारायणी अस्पतालका डा. नीरज सिंहले हैजा हावाबाट नफैलिने र व्यक्तिगत सरसफाइमा ध्यान दिए पूर्ण रूपमा नियन्त्रण गर्न सकिने बताए । उनले उमालेको पानीको प्रयोग, नियमित हात धुने बानी र सरसफाइमा जोड दिन सुझाए । स्वास्थ्य विशेषज्ञहरूले दीर्घकालीन नियन्त्रणका लागि स्वच्छता र पूर्वाधार सुधार आवश्यक रहेको औँल्याएका छन् ।
महानगरपालिकाले स्थानीयवासीलाई स्वास्थ्य सतर्कता अपनाउन र सङ्क्रमण पूर्ण नियन्त्रणका लागि सहभागिता जनाउन अपिल गरेको छ ।