महोत्तरी । महोत्तरी जिल्लाको एकडरा गाउँपालिकामा बालअधिकार र त्यससँग सम्बन्धित प्रगतिका पक्षहरूबारे स्थलगत निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल रहनु भएको थियो।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रीय बाल अधिकार परिषद्का उपाध्यक्ष, वर्ल्ड भिजन इन्टरनेशनलका प्रतिनिधिहरू, एकडरा गाउँपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, साथै स्थानीय जनप्रतिनिधि, संघ–संस्था र बाल क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि मन्त्री जयसवालले बालबालिका राष्ट्रका भविष्य भएकाले उनीहरूको संरक्षण र विकासप्रति सरकार प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले सरकार, स्थानीय तह र साझेदार संस्थाबीचको सहकार्यबाट मात्रै बालमैत्री समाज निर्माण सम्भव हुनेमा जोड दिनुभयो।
कार्यक्रमले बालअधिकारको क्षेत्रमा कार्यरत विभिन्न सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई मजबुत बनाउँदै स्थानीय तहमा नीति तथा कार्यक्रम प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।