वीरगन्ज । पर्साको वीरगन्जमा हैजाका बिरामीको संख्या घट्दै गइरहेका बेला छिमेकी जिल्ला बारामा भने हैजाका बिरामीहरु भेटिन थालेका छन्।
बाराको महागढीमाई नगरपालिका–८ का दुई जना बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको हो ।बारामा हैजा प्रभावित वीरगन्जसंग ‘ट्राभल्स हिस्ट्री’ नभएका दुई जना बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिए ।
उनका अनुसार,झाडापखाला लागेर भदौं १६ गते कलैयास्थित प्रादेशीक अस्पतालमा ल्याइएका एकै टोलका ८ वर्षीय बालक र ८ वर्षीया बालिकाको आरडिटी टेष्ट गर्दा हैजाको संक्रमण पुष्टि भएको हो । ती दुवै बालबालिका कलैयास्थित प्रादेशीक अस्पतालमै उपचाररत रहेको उनले बताए।
यसअघि बारा जिल्ला घर भई वीरगन्जमा बस्दै आएका ८ जनामा हैजाको संक्रमण पुष्टि भएपनि हैजाले प्रभावित वीरगन्जसंग ट्राभल हिस्ट्री नभएका सन्दर्भमा पहिलोपटक दुई बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको उनले बताए ।
उनका अनुसार,यसअघि हैजाको संक्रमण पुष्टि भएका बारा जिल्लाका ८ जनामध्ये तीन जना उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । हाल कलैया अस्पतालमा ५ जना तथाअ वीरगन्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा एक एक जना उपचाररत रहेको जानकारीपनि उनले दिए ।
यादवले असअघि वीरगन्जसंग ट्राभल हिस्ट्री जोडिएका बिरामीमा मात्रै हैजाको संक्रमण पुष्टी हुदैं आएकोमा अब वीरगन्जसंग ट्राभल हिस्ट्री नै नजोडिएका बिरामीमा समेत हैजाको पुष्टि भएपछि यसले चिन्ता थपिएको बताए । उनले भने,‘ यसबारेमा हामीले अनुसन्धान गरिरहेका छौं ।’
वीरगन्जमा कम हुदैंं झाडापखाला र हैजाका बिरामी
यता वीरगन्जसहित पर्सा जिल्लामा भने विगत तीन दिन यता हैजाको संक्रमण पुष्टि हुने बिरामीको संख्या निक्कै कम हुदैं गएको छ।अस्पताहरुमा झाडपखालाका नयाँ बिरामी र हैजा संक्रमण पुष्टि हुने बिरामी दुवैको संख्या ह्वात्तै घटेको छ ।
पर्साको वीरगन्जसहितका अस्पतालमा बुधबार झाडापखालाका नयाँ बिरामी ३१ जना मात्रै भर्ना भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । तीमध्ये १ जनामा मात्रै हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
यस्तै मंगलबार भने झाडापखालाका नयाँ बिरामी ३७ जना मात्रै भर्ना भएका थिए भने तीमध्ये ४ जनामा मात्रै हैजाको संक्रमण पुष्टि भएको थियो ।यस्तै गत सोमबार झाडापखालाका नयाँ बिरामी ४६ जना भर्ना भएका थिए भने तीमध्ये ८ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो ।
वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत झाडापखालाका सिकिस्त बिरामीहरुको आरडिटी किटबाट हैजाको परीक्षण हुदै आएको छ ।हालसम्म (भदौं ६ गते शुक्रबारदेखि भदौं १८ गतेबिहानसम्म ) पर्साको वीरगन्ज र पोखरियामा गरी १९४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । तीमध्ये १८२ जना निको भई अस्पतालबाट डिस्चार्ज भइसकेको र हाल अस्पतालमा १२ जनामात्रै उपचाररत रहेका छन् ।
उनका अनुसार, हाल भवानी हस्पिटल र प्रभु हस्पिटलमा तीन तीन जना तथा नारायणी अस्पताल , नेशनल मेडिकल कलेज र एडभान्स हस्पिटलमा दुई दुई जना मात्रै हैजाका बिरामी उपचाररत रहेका छन् ।
यसैगरि हालसम्म (भदौं ६ देखि भदौं १८ गते बिहान १० बजेसम्म ) वीरगन्जसहित पर्सा जिल्लामा कूल ९६५ जना झाडापखालाबाट संक्रमित भएकोमा तीमध्ये अस्पतालमा उपचारपछि निको भएर ८६५ जना घर फर्किसकेको ठाकुरले बताए । हाल विभिन्न अस्पतालमा गरी १०० जनामात्रै बिरामी उपचाररत रहेको भन्दै उनले आइसियुमा उपचारत बिरामीको संख्या हाल १६ मात्रै रहेको जानकारी गराए ।