वीरगञ्ज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने आरोपमा पक्राउ परेकी किरणलाई थुनामुक्त गर्न खानेपानी मन्त्री प्रदीप यादवले आग्रह गरेका छन् ।
आफैलाई ज्यान मार्ने धम्की दिएको व्यक्ति प्रति उदारता देखाउँदै मन्त्री यादवले आफ्नो सचिवालय मार्फत पर्सा प्रहरीसँग साहलाई थुनामुक्त गर्न आग्रह गरेका हुन् । सम्भवतः आज उनलाई रिहा गरिने सम्भावना रहेको छ ।
साहले वीरगञ्जमा हैजा सङ्क्रमण फैलिएको र त्यसको कारण खानेपानी मन्त्री यादव र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहद्वारा जडान गरिएको बोरिङको पानी जिम्मेवार रहेको भन्दै मन्त्री यादवलाई फोन मार्फत ज्यान मार्ने धम्की दिएकी थिइन् ।
धम्की आएपछि मन्त्री यादवले उक्त नम्बरसहितको जानकारी पर्सा प्रहरीलाई बुझाएका थिए । सोही जानकारीको आधारमा पर्सा प्रहरीले उनलाई शनिवार हिरासतमा लिएको थियो ।
त्यसपश्चात् यादवका स्वकीय अधिकृत हरेन्द्र साहले आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले साहविरुद्ध साइबर क्राइम, सङ्घीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाउने आरोपमा तीन वटा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद लिएको थियो । मङ्गलवार म्याद सकिएपछि प्रहरीको आग्रहमा अदालतले थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।
प्रहरी अनुसन्धानमा साहले मन्त्री यादवसँग फोनमा गरिएको कुराकानीको रेकर्डिङ गरेर अडियो सम्पादन गरी सार्वजनिक गरेको पनि पाइएको छ । शुक्रवार सार्वजनिक भएको अडिओमा साहले मन्त्री यादवलाई ज्यान मार्ने धम्की दिएको विषय सम्पादन गरिएको थियो पछि वास्तविक अडियो बाहिरिएपछि उनले मन्त्रीलाई सोझै ज्यान मार्ने धम्की दिएको सत्यतथ्य खुलासा भएको मन्त्री यादवले बताए ।
साह हिरासतमा रहेको छैटौँ दिन मन्त्री यादवले उनलाई थुनामुक्त गर्न आफ्नो सचिवालय मार्फत पर्सा प्रहरीसँग आग्रह गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा पोस्ट सार्वजनिक गर्दै मन्त्री यादवले भने, “मलाई किरण साहप्रति कुनै व्यक्तिगत पूर्वाग्रह छैन । उनको कोही आफन्त बिरामी भएको भए सहयोग गर्न तयार थिएँ । तर, धम्की र अफवाह फैलाउने कार्य स्वीकार्य छैन ।” उनले लोकतन्त्रमा गुनासो राख्ने छुट रहे पनि हिंसात्मक भावना र अराजकता फैलाउन नपाइने बताएका छन् ।
मन्त्री यादवले किरण साहलाई सही बाटोमा ल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रहरीलाई उनप्रति नरम व्यवहार अपनाउन आग्रह गरेका छन् । उनले आफ्नो सचिवालयमार्फत प्रहरीलाई साहको रिहाइका लागि समन्वय गर्न निर्देशन दिएका छन् ।
मन्त्री यादवले किरण साह प्रकरणमा आफूलाई नजोड्न र प्रहरी अनुसन्धानलाई निष्पक्ष रूपमा अगाडि बढाउन दिन आग्रह गरेका छन् । उनले लेखेका छन्, “कानुनभन्दा माथि कोही हुँदैन । तर, म चाहन्छु कि किरण साहले आफ्नो गल्ती महसुस गरी लोकतान्त्रिक अधिकारको सही प्रयोग गरून् ।”
त्यस्तै उनले एक जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य भएको बताउँदै भने, “तर अनाहक अफवाह फैलाउने, मार्ने धम्की दिने कार्य उक्त फोनकर्ताबाट भएको हुनाले मेरा हितैषीहरू चिन्तित र चासो लिनु स्वाभाविक हो । फोनकर्तालाई उक्साउने वा मेन्टरिङग गर्नेको मनसाय के थियो त्यसको छानविन प्रहरीले गर्छ नै । कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेदारी हो । फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ । फोनकर्ता महिलाप्रति नरम भइदिनको लागि सचिवालय मार्फत प्रहरी समक्ष खबर पुर्याएको छु ।आशा छ आजको दिन फोनकर्ता महिलाको लागी फलदायी होला ।”
मन्त्रीको कदमलाई उनको उदारता र जनप्रतिनिधिको जिम्मेवारीप्रतिको नरम दृष्टिकोणको रूपमा हेरिएको छ । स्रोतका अनुसार, प्रहरीले अनुसन्धान पूरा गरेको र आज साहलाई थुनामुक्त गरिने सम्भावना छ ।
यसैबिच, मन्त्री यादवले वीरगञ्जमा देखिएको खानेपानी सङ्कट र हालै फैलिएको झाडापखाला तथा हैजाको प्रकोप समाधानका लागि युद्ध स्तरमा काम गरिरहेको बताएका छन् । मन्त्री यादवले स्थानीय वीरगञ्ज महानगरपालिका, मधेस प्रदेश सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग समन्वय गरी तत्कालीन र दीर्घकालीन समाधानका लागि पहल गरिरहेको जानकारी दिए ।
मन्त्री यादवले समस्यालाई गम्भीरतापूर्वक लिँदै स्थानीय जनताको गुनासो सुन्न र समाधानका लागि दिनरात खटिरहेको बताए । उनले भने, “म जनताको पिर मार्का बुझ्ने र समाधान गर्ने मेरो धर्म हो । जनताले सरकारसँग प्रश्न गर्न पाउनुपर्छ भन्ने मेरो राजनीतिक ध्येय हो ।”
यसैबिच, उनले वीरगञ्जमा झाडापखाला र हैजा नियन्त्रणका लागि प्रधानमन्त्री, सङ्घीय स्वास्थ्य मन्त्रालय र स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी तत्काल राहत र उपचारको व्यवस्था मिलाउन आफू सक्रिय रहेको पनि बताएका छन् ।
घटनाले वीरगञ्जमा ठूलो चर्चा पाएको छ । मन्त्री यादवका हितैषीहरूले उनको सुरक्षाप्रति चिन्ता व्यक्त गरे पनि उनले जनताको सेवामा आफ्नो प्रतिबद्धता कायम राख्ने अठोट दोहोर्याएका छन् ।