रौतहट । डिभिजन वन कार्यालय रौतहटले विभिन्न स्थानबाट बरामद गरेर राखेका सवारी साधान र काठ समयमै लिलाम हुन नसक्दा करोडौंको काठ र सवारी साधन कुहिएर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।
विभिन्न समयमा डिभिजन वन कार्यालयले अवैधरुपमा काठ चोर तस्करले लान लागेको अवस्थामा बरामद गरेका स्कारपियो,जिप ,टेक्टर, ट्रक ,टायरगाडा,साइकल,ई-रिक्सालगायतका सवारी साधन र त्यसमा रहेको काठ कानुनी बाधा अड्चनका कारण तत्काल लिलाम गर्न नसक्दा करोडौंको राजश्व गुम्दै आएको छ ।
काठसहित बरामद भएका सवारी साधान र त्यसमा रहेको काठको मुद्दा जिल्ला अदालतले हेर्ने भएका कारण समेत सहजै मुद्दा किनारा नलाग्ने गरेकाले बरामद गरिएको काठ र सवारीसाधन लिलाम बिक्री हुन नसक्दा वनकार्यालयको हाताभित्र रहेका सवारी साधन र काठ झाडीमै हराउन र कुहिन थालेको वन कार्यालयले जनाएको छ ।
डिभिजन र सेक्टर वन कार्यालय गरी रौतहटमा मात्रै अवैध रूपमा काठ ओसारपसार गर्दा बरामद भएका स्कारपियो,टोयटा जिपदेखि ट्रक,बस,मोटरसाइकल सहित झन्डै ३ सय ३० सवारीसाधन झाडीमा थुप्रिएका छन् ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख प्रमुख हेमन्त साहले कुहिन लागेका गाडीको हकमा अहिलेसम्म लिलाम गर्ने कुनै प्रक्रिया अघि नबढेको बताए । ‘कार्यालयले सवारी साधन लिलामको लागि कुनै प्रक्रियाअघि बढाएको छैन,’प्रमुख साहले भने,‘हामी के कसरी गर्ने भन्ने छलफलमै रहेका छौं ।’
कानुन झन्झट पनि त्यत्तिकै रहेको प्रमुख साह बताउँछन् । यसअघिका डिभिजन प्रमुखहरुले पनि कानुनी झन्झट रहेको र केही मुद्दा जिल्लाबाट उच्च हुँदै सर्वोच्चसम्म पुगेकाले फैसला हुन समय लागेको हुन सक्ने बताएका थिए । समयमा लिलाम हुन नसक्दा सवारीसाधान,काठ कुहिएर जाने अवस्थामा पुगेकाले सरकारले पाउनुपर्ने ठूलो राजश्व समेत गुम्दै आएको छ ।
काठसहित पक्राउ परेका केही व्यक्ति भने धरौटीमा छुटेका छन् भने बेवारिसेको हकमा गाडीको दाबी गर्न अहिलेसम्म कोही नआएको वन कार्यालयले जनाएको छ । डिभिजन वन रौतहटका अनुसार विभिन्न स्थानबाट अवैध काठसहित ४ वटा ट्रक, २१ वटा स्कारपियो, सफारी जिप, टोयटा गाडी,टाटमोबाइल जिप, ट्रेक्टर ८ वटा बरामद भएका छन । अवैध काठ लोड गरेको अवस्थामा एउटा बससमेत बरामद गरेको छ ।
काठ लोड भएका ३१ मोटरसाइकल र ३ ई–रिक्सा बरामद गरेको वन कार्यालयका जम्दार रामपुकार साहले बताए । तस्करले ३ वटासम्म नम्बर प्लेट राखेर सवारीसाभन प्रयोग गर्ने गरेकाले सवारी धनी पत्ता लगाउन कठिन परेको वन कार्यालयले जनायो । इन्जिन,चेचिस नम्बर र यातायातको अभिलेखमा भएको नम्बर फरक परेपछि झनै समस्या भएको वन कार्यालयले जनाएको छ। सम्भार: अन्नपूर्ण पोस्ट