विराटनगर । सुनसरीको झुम्का कारागारमा फैलिएको स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) ले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरेको छ ।
सयौँ कैदीबन्दीमा ज्वरो, शरीर दुख्ने, नाक बन्द हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानले यस्तो कदम चालेको हो । प्रारम्भिक अनुसन्धानका आधारमा भाइरल सङ्क्रमणको आशङ्का गरिएको छ ।
भदौ १८ गते साँझ ७ बजे कारागारमा भाइरल फैलिएको बिरामीबारे प्रतिष्ठानलाई जानकारी दिइएको थियो । लगत्तै अस्पताल निर्देशकको अध्यक्षतामा मेडिसिन, इमर्जेन्सी मेडिसिन/जनरल प्राक्टिस, एनेस्थेसियोलोजी लगायतका विभिन्न विभागका चिकित्सक, नर्स र ल्याब प्राविधिक गरी ९ सदस्यीय आरआरटी गठन गरेर सेवा सुरु गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारले विज्ञप्ति जारी जानकारी दिएका हुन् ।
आरआरटीले सरुवा रोगको सम्भावित महामारीलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाएर स्थलगत अवलोकन, जाँच पड्ताल र उपचार प्रदान गरेको छ । करिब १ हजार ८ सय कैदीबन्दी रहेको कारागारमा ४ सय जनामा समस्याको आशंका गरी स्क्रिनिङ गरिएकोमा अधिकांशमा ‘एन्जाइटी’ पाइएको थियो भने करिब १ सय जनामा उच्च ज्वरो लगायतका लक्षण देखिएको थियो ।
टोलीले विभिन्न ब्लक बनाएर स्क्रिनिङ गरेको थियो । पहिलो ब्लकमा सबैको ‘भाइटल टेस्ट’ (ब्लड प्रेसर, पल्स, रेस्पिरेटरी रेट, तापक्रम र एसपीओ २) जाँच गरिएको थियो, जसमा खराबी देखिएका बिरामीहरूलाई थप जाँच र उपचारका लागि अन्य ब्लकमा पठाइएको थियो ।
हालसम्म यस प्रकोपसँग सम्बन्धित ३ जना कैदीबन्दीको निधन भएको जानकारीमा आएको छ । जसमध्ये १ जनाको कारागारमै, १ जनाको इनरुवा जिल्ला अस्पतालमा र १ जनाको बीपी प्रतिष्ठानमा मृत्यु भएको थियो ।
३५ जनाको डेङ्गु परीक्षण गर्दा १ जनामा आईजीएम पोजेटिभ र १ जनामा एनएस १ पोजेटिभ पाइएको प्रतिष्ठानले जनाएको छ । १० जनाको कोभिड परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको छ । प्रारम्भिक जाँच र उपचारपछि बुधबार राति १२ जना बिरामीलाई प्रतिष्ठानको इमर्जेन्सीमा थप निगरानीका लागि ल्याइएको थियो । उनीहरूमध्ये १ जनालाई नाकबाट रगत बगेको, २ जनाको रक्तचाप रहेको र १ जनाको रक्तचाप कम भएको पाइएको थियो । प्रतिष्ठानमा भर्ना भएका सबै बिरामीको अवस्था सामान्य रहेको बताइएको छ । बिहीबार थप ५ जना बिरामीलाई पनि कारागारबाट प्रतिष्ठान पठाइएको थियो ।
प्रतिष्ठानको रिपोर्ट अनुसार विगत १०–१२ दिनदेखि नै कारागारबाट यस्तै प्रकृतिका बिरामी आइरहेका थिए । हालसम्म यस प्रकोपसँग सम्बन्धित ३ जना कैदीबन्दीको निधन भएको जानकारीमा आएको छ । जसमध्ये १ जनाको कारागारमै, १ जनाको इनरुवा जिल्ला अस्पतालमा र १ जनाको बीपी प्रतिष्ठानमा मृत्यु भएको थियो । प्रतिष्ठानमा मृत्यु भएका बिरामी सेप्टिक सक र मल्टिपल अर्गन डिसफङ्क्शन सिन्ड्रोमको अवस्थामा आएको विज्ञप्तिमा उल्लेख छ । आईसीयूमा राखी डाइलाइसिस गर्दा पनि उनको ज्यान बचाउन नसकिएको प्रतिष्ठानले जनाएको छ ।
यद्यपि, करिब १५–१६ दिनअघि कारागारबाट आएका अर्का बिरामीलाई जापानी इन्सेफलाइटिस (जेई) भएको पत्ता लागेपछि प्रतिष्ठानले सफलतापूर्वक उपचार गरी फर्काएको थियो । भदौ १९ गते बिहान अस्पताल निर्देशकको अध्यक्षतामा बसेको समीक्षा बैठकमा विभिन्न विभागका प्रमुखहरू आरआरटी र डिजास्टर टीमका सदस्यहरूले विस्तृत छलफल गरेका थिए ।

मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. रबिन मास्केले विगत १ महिनादेखि भाइरल इन्फेक्सन र फिभरका केसहरू बढेको र कारागारको समस्या पनि भाइरल सङ्क्रमणले नै भएको सम्भावना बढिरहेको बताए । इमर्जेन्सी मेडिसिन तथा जनरल प्राक्टिस विभागका विभागीय प्रमुख प्रा.डा. रबिन भण्डारीले पनि यस भनाइमा सहमति जनाएका थिए ।
बैठकले हाल आत्तिने अवस्था नरहेको तर सर्वसाधारणले भाइरल सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ ।

प्रतिष्ठानले यस संकटको समाधानमा राम्रो भूमिका निर्वाह गरेको र भविष्यमा यस्ता समस्या अझ बढेमा पूर्वतयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को डिजास्टर टीमले पनि प्रतिष्ठानमा भर्ना भएका बिरामीहरूका साथै झुम्का कारागारबाट पनि नमूना सङ्कलन गरेको छ ।