काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार लोकप्रिय हुँदा त्यसलाई बदनाम गर्नका लागि भिजिट भिसामा मान्छे लाने जस्ता हल्ला चलाइएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टीको शक्ति र लोकप्रियता बढ्दा केही शक्तिहरूले त्यसलाई कमजोर पार्न विभिन्न किसिमका षड्यन्त्र र गलत प्रचारबाजी गरेको बताए ।
हाम्रो सरकारको लोकप्रियता बढेपछि, देश अगाडि बढ्न थालेपछि, हाम्रा कामकारबाहीहरू राम्रा हुन थालेपछि, कसैलाई मन नपरेर होला, भिजिट भिसामा मान्छे लाने भनेर हल्ला चलाइयो,’ ओलीले भने ।
उनले यो प्रचारलाई पूर्ण रूपमा निराधार र कपोलकल्पित भन्दै यसको पछाडि पार्टीलाई कमजोर पार्ने र जनतामा भ्रम फैलाउने नियत रहेको बताए । ‘यस्ता कुराहरूमा विश्वास नगर्न म सबै पार्टी कार्यकर्ताहरू र आम जनतालाई आग्रह गर्दछु,’ उनले थपे, ‘हामी कसैको पनि राष्ट्रिय हित र सार्वभौमिकतामाथि आँच आउने काम गर्दैनौँ, न त त्यस्तो हुन दिन्छौँ ।’
ओलीले आफ्नो सरकारले विदेश सम्बन्ध र अन्तर्राष्ट्रिय आयामहरूमा राष्ट्रिय हितलाई सर्वोपरि राखेको र कुनै पनि देशको दबाबमा नपरी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको जिकिर गरे ।