काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरूलाई ‘प्रक्रिया देखाउने र काम पन्छाउने’ पुरानो प्रवृत्ति त्यागी नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुननिर्देशन दिएका छन् । निजामती सेवा दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अब ‘सेवा खोज्दै नागरिक होइन, सेवाले नागरिक खोज्ने’ समय आएको बताएका हुन् ।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा स्पष्ट शब्दमा भनेका छन्, ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ । टेबल र कुर्चीबाट मात्र होइन, प्रविधिबाट सेवा विस्तार हुनुपर्ने बेला आएको छ ।’ उनले बदलिँदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रूपान्तरण गर्न जरुरी रहेकोमा जोड दिए ।
प्रधानमन्त्री ओलीले सरकारको प्रभावकारिता निजामती सेवाको काममा निर्भर रहने बताउँदै पछिल्लो समय यस सेवाका आदर्श, मूल्यमान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित भई जनविश्वास घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सरकारलाई सह्य नहुने चेतावनीसमेत दिएका छन् ।
प्रधानमन्त्रीले सरकारको उच्च प्राथमिकतामा रहेको निजामती विधेयक संसदबाट पारित हुने क्रममा रहेको जानकारी दिँदै यस कानूनले कर्मचारी वर्गको उन्नयनका साथै संघीयताको डेलिभरीमा नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् । ‘मुलुकमा मानव पुँजी व्यवस्थापन र परिचालनबाट प्रशासनिक संघीयताको एक फड्को तर्ने संघारमा हामी लागेका छौं,’ उनले भनेका छन् ।
सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भाव मार्फत राज्यले नागरिकको विश्वास जित्न सक्छ भन्ने कुरा सबैले गहिरो रूपमा आत्मसात गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । आजको युग प्रविधिमैत्री सुशासनको युग भएको उल्लेख गर्दै उनले डिजिटल रूपान्तरण, ई-गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र सहज एवं पहुँचयोग्य अनलाइन सेवा प्रवाहमार्फत नागरिकलाई छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु निजामती सेवाको प्रमुख दायित्व भएको स्मरण गराएका छन् ।