वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले आज (सोमबार) राति ९ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीद्वारा हस्ताक्षरित आदेशअनुसार भोलि विहान ९ बजेसम्म लागू हुने गरी जारी गरिएको कफ्र्यू आदेशलाई आवश्यकताअनुसार थप समयका लागि निरन्तरता दिइने बताइएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गरिएको आदेशअनुसार तोकिएको क्षेत्रभित्र सर्वसाधारणले आवतजावत गर्न, भिडभाड गर्न, जुलुस, सभा, प्रदर्शन वा कुनै किसिमको भीड जम्मा गर्न पूर्णतः निषेध गरिएको छ। आदेशअनुसार पूर्व – बाइपास रोड, पश्चिम – सिरिया पुल, उत्तर – गण्डक चौक, दक्षिण – शंकराचार्य गेट सम्म कफ्र्यू आदेश जारी गरिएको सुवेदीले जानाकरी दिए ।
यस भित्र पर्ने सम्पूर्ण क्षेत्रमा कफ्र्यूको पालना गर्न सबैलाई अनुरोध गरिएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।
भ्रष्टाचार र कुशासनविरुद्ध देशव्यापी रूपमा फैलिएको जेनजी पुस्ताको आन्दोलन सोमबार वीरगञ्जमा समेत चर्किएको थियो। प्रदर्शनकारीहरूले घण्टाघर चोकलगायतका क्षेत्रमा टायर बालेर नाराबाजी गरेका थिए। बढ्दो तनाव र सम्भावित झडपलाई मध्यनजर गर्दै प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो।
कफ्र्यू लागू भएपछि वीरगञ्जको बजार, पसल र सडकमा शून्यता देखिएको छ। सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी र सशस्त्र फौज परिचालन गरिएको प्रशासनले जनाएको छ।
