वीरगञ्ज । वीरगञ्जमा सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रहरी दमन र हत्याको विरोधमा चर्किएको प्रदर्शनका कारण पुनः कर्फ्यु आदेश जारी गरिएको छ ।
मङ्गलवार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कर्फ्युको क्षेत्र वीरगञ्ज महानगरपालिकाको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य द्वारलाई चार किल्ला तोकिएको छ ।
सोमबार साँझ वीरगञ्जको घण्टाघरमा जम्मा भएका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गर्दै प्रदर्शन गरेका थिए । काठमाडौँलगायतका स्थानमा प्रहरीले विद्यार्थी र युवामाथि गरेको हिंसाको विरोधमा आन्दोलनकारीले घण्टाघर, माइस्थान चोक र घडिअर्वालगायतका स्थानमा टायर बालेर नाराबाजी गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो । प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शनकारीले प्रहरी बिटमा आगजनी गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि सोमबार राति ९ बजेदेखि मङ्गलवार बिहान ९ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।
मङ्गलवार बिहान ९ बजे कर्फ्यु हटे पनि माइस्थान, घण्टाघरलगायतका स्थानमा पुनः प्रदर्शन सुरु भएपछि प्रशासनले बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु लम्ब्याएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जारी गरेको सूचनामा काठमाडौँलगायतका स्थानमा प्रहरीको दमन र हत्याको विरोधमा वीरगञ्जमा आन्दोलनकारीले आगजनी र तोडफोड गरेपछि स्थिति नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ । सुरक्षा व्यवस्था कडा पारिएको छ र सुरक्षाकर्मीहरूलाई सतर्क अवस्थामा खटाइएको छ ।
स्थानीय प्रशासनले नागरिकहरूलाई कर्फ्युको पालना गर्न र शान्ति कायम राख्न आग्रह गरेको छ ।
आन्दोलनले देशभरका युवाहरूमा व्याप्त आक्रोश र परिवर्तनको मागलाई झल्काएको छ । हालसम्म आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको छ भने ४५० भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
