काठमाण्डौ । जेन्जी समूहको आन्दोलनका कारण देशले ठूलो भौतिक क्षति व्यहोरेको छ । कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाका भवनदेखि सार्वजनिक र व्यक्तिका घर, व्यापारिक केन्द, सञ्चार माध्यमका भवन लगायत संरचनाहरुमा आगजनी तथा तोडफोड भएको छ । ती भवनमा रहेका महत्त्वपूर्ण कागजत र अभिलेख नष्ट भएका छन् ।
हिजोको क्षतिलाई इतिहासमा भएको ठूलो क्षति मानिएको छ । सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित अरू मन्त्रालयका भवन, सर्वाेच्च अदालत र सङ्घीय संसद् भवन आगलागीबाट पूर्ण रूपमा जलेका छन् । महान्यायाधीवक्ताको कार्यालय, सडक विभाग, विशेष अदालत, अख्तियार जस्ता महत्त्वपूर्ण कार्यालयहरु जलाइएको छ ।
त्यसैगरी विभिन्न राजनीतिक दलका पार्टी कार्यालय तोडफोड र आगजनी भएका छन् । (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका नेताहरुको निवासमा तोडफोड र आगजनी भएको छ ।
देशका मुख्य शहरहरूका महत्त्वपूर्ण सरकारी र निजी भौतिक संरचनामा क्षति पुगेको छ । हिजो दिनभर उग्ररुपमा चर्किएको आन्दोलनले व्याक्तिका नीजि सम्पति र घरहरुमा क्षति भएको छ । विभिन्न प्रदेश राजधानी तथा जिल्लाहरुमा सरकारी तथा निजी संरचनामा तोडफोड र आगजनी भएको छ । कतिपय पालिकाका प्रशासनिक भवन, प्रहरी कार्यालय र बिट जलाइएका छन् । जिल्लामा रहेका विभिन्न राजनीति दल तथा नेताका घरमा आगजनी र तोडफोड भएका छन् ।