काठमाडौं, भदौ २५ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैका आन्दोलन र घटनाक्रमबारे जेन-जी पुस्तालाई भावुक सन्देश पठाएका छन्। शिवपुरीमा सुरक्षा घेराभित्र रहँदै उनले सामाजिक सञ्जालमार्फत जनाएका भावनात्मक भनाइहरूले चर्चा पाएको छ।
ओलीले आफ्नो सन्देशमा हालको आन्दोलन र हिंसात्मक गतिविधिमा जेन-जी पुस्ताको निर्दोष भावनालाई प्रयोग गरेर गलत राजनीति गर्न खोजिएको आरोप लगाए। “कार्यालयहरूमा आगजनी गर्ने, कारागारका कैदीहरूलाई छुटाउने जस्ता गतिविधिहरूमा गहिरो षड्यन्त्र लुकेको छ,” ओलीले भने।
उनले आफू सधैं शान्तिको पक्षधर रहेको स्मरण गर्दै २०५१ सालमा गृहमन्त्री हुँदा राज्यतर्फबाट गोली नचलाइएको उल्लेख गरे। “मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेकोले सधैं समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखें,” उनले भने।
ओलीले आफ्नो व्यक्तिगत जीवनका पीडादायी अनुभवसमेत उजागर गरे। व्यवस्थाविरुद्धको कठोर संघर्ष र यातनाका कारण आफ्नै सन्तान नभएको उल्लेख गर्दै उनले भने, “तर पनि, ‘बा’ बन्ने मेरो रहर कहिल्यै मरेन।”
उनले व्यवस्थाको रक्षा नै आफ्नो जीवनको मुख्य उद्देश्य भएको दोहोर्याउँदै भने, “पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि ठूलो छैन। सबैभन्दा महत्त्वपूर्ण यो व्यवस्था जोगाउनु हो। यही व्यवस्थाले तपाईँहरूलाई बोल्ने, हिँड्ने र प्रश्न गर्ने अधिकार दिएको छ।”
ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा संयुक्त राष्ट्रसंघमा पठाउन गरेको अडानदेखि सामाजिक सञ्जाललाई सूचीकरण गर्नुपर्ने जिद्दीपर्यन्तका आफ्ना निर्णयहरूलाई स्मरण गर्दै आफू कहिल्यै पछि नहट्ने बताए।
उनले जेन-जी पुस्तालाई आन्दोलनमा भावनात्मक रूपमा प्रयोग हुन नदिन आग्रह गर्दै व्यवस्थाको बचाउमा संवेदनशील बन्न आह्वान गरे।