काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको छलफलको सूचना चुहाएसँगै सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलको खोजी सुरू भएको छ।
उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा बैठकमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले गरेको प्रस्तावबारेको सूचना चुहाएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपति पौडेलको सोधिखोजी सुरू गरेका हुन्।
वरिष्ठ पत्रकार नेपालले एक्समा बुधबार राष्ट्रपति पौडेलको उपस्थितिमा सुरक्षा प्रमुखहरूको बैठक बसेको र बैठकमा प्रधान सेनापति सिग्देलले राष्ट्रपतिसँग ‘राजीनामा दिन’ आग्रह गरेको दाबी गरेका छन्।
उनका अनुसार सिग्देलले राष्ट्रपति पौडेललाई राजीनामा दिन आग्रहमात्रै नगरेर बाँकी सेनाले सम्हाल्ने अभिव्यक्ति दिएको पनि जिकिर गरेका छन्। आग्रहपछि राष्ट्रपति पौडेलले सेनापतिलाई आफ्नो हत्या गर्न भनेको समेत नेपालको दाबी छ।
‘राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसँग ‘राजीनामा दिने’ आग्रह गर्दै भने छन, ‘बाँकी हामी सम्हाल्छौँ,’ पत्रकार नेपालले लेखका छन्, ‘राष्ट्रपतिको जवाफ थियो : म राजीनामा दिन्न। बरू, तपाईंहरू मलाइ मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाई दिनुहोस्। त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस्।’
वरिष्ठ पत्रकार नेपालको यो एक्स पोस्टले सामाजिक सञ्जाल तरंगित बन्न पुगेको छ। उनको पोस्टलाई ३२९ जनाले रि-पोस्ट गरेका छन्। पोस्ट ‘भाइरल’ भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सेनासँग राष्ट्रपतिको पछिल्लो अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन्।
जेनजी पुस्ताले गत मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित भीडले बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आगजनी गरेका थिए।
आन्दोलनकारी शीतलनिवास प्रवेश गरेपछि नेपाली सेनाले आफ्ना परमाधीपति पौडेललाई सुरक्षित स्थानतर्फ लगेको थियो। राष्ट्रपतिलाई सेनाले शिवपुरीमा रहेको आफ्नो ब्यारेकमा राखेको भनिए पनि औपचारिक रूपमा यसबारे केही जानकारी सार्वजनिक गरेको छैन।
त्यस्तै राष्ट्रपति पौडेलको सचिवालयले पनि औपचारिक रूपमा यसबारे मुख खोलेको छैन। सेना र सचिवालयबाट पछिल्लो अवस्थाका बारेमा औपचारिक जानकारी बाहिर नआएपछि सामाजिक सञ्जालमा उनको खोजी भइरहेको छ। उनीहरू लेखिरहेका छन्, ‘ राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर।’
जेनजी पुस्ताले गत मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित भीडले बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आगजनी गरेका थिए।
आन्दोलनकारी शीतलनिवास प्रवेश गरेपछि नेपाली सेनाले आफ्ना परमाधीपति पौडेललाई सुरक्षित स्थानतर्फ लगेको थियो। राष्ट्रपतिलाई सेनाले शिवपुरीमा रहेको आफ्नो ब्यारेकमा राखेको भनिए पनि औपचारिक रूपमा यसबारे केही जानकारी सार्वजनिक गरेको छैन।
त्यस्तै राष्ट्रपति पौडेलको सचिवालयले पनि औपचारिक रूपमा यसबारे मुख खोलेको छैन। सेना र सचिवालयबाट पछिल्लो अवस्थाका बारेमा औपचारिक जानकारी बाहिर नआएपछि सामाजिक सञ्जालमा उनको खोजी भइरहेको छ। उनीहरू लेखिरहेका छन्, ‘ राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर।’
जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह (बालेन्द्र)ले सामाजिक सञ्जालमार्फत् अन्तरिम सरकार गठन गरेर तत्काल संसद् विघटन गर्न भनेपछि उनीहरूले राष्ट्रपतिको खोजीलाई झनै तीब्रता दिएका छन्।
बालेनले फेसबुमा ‘सम्माननिय राष्ट्रपतिज्यू, जेनजीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद्को विघटन अविलम्ब गर्नु होला’ लेखेका थिए।
बालेनको पछिल्लो धारणा सार्वजनिक भएपछि लोकतन्त्रमा आस्था राख्नेहरूमा संविधान गुम्ने चिन्ता देखिन सुरू भएको छ। ‘रामचन्द्र पौडेल कहाँ गायब ? किन सेना सबै चिजमा खेलकुद गरिरा हो खास ?,’ एक जना एक्स प्रयोगकर्ताले प्रश्न गरेका छन्, ‘यो सबै चिजमा राष्ट्रपतिको भूमिका किन लगभग शून्य ? हिजो हुलदङ्गा थियो रे, आज कता उनी ?’
अर्का एक्स प्रयोगकर्ता ज्योति थापाले पनि राष्ट्रपतिलाई सार्वजनिक गरेर संवैधानिक सर्वोच्चता कायम गर्न र सर्वदलीय बैठक आह्वान गरेर संसदीय ढोका खुला गर्न माग गरेका छन्। ‘प्रतिगमन मुर्दावाद,’ उनले भनेका छन्।
कान्तिपुर दैनिकमा कार्यरत पत्रकार अर्जुन शाहले पनि राष्ट्रपतिको अवस्थाबारे आमनागरिकले थाहा पाउनुपर्ने बताएका छन्। ‘अहिले संविधान जीवित छ या छैन ? यदि जीवित छ भने राष्ट्रपति कहाँ छन् र अवस्था के छ ? आम नागरिकले थाहा पाउनु पर्दैन ?,’ उनले फेसबुकमा प्रश्न गरेका छन्।
शालोक्यका नामबाट परिचित अर्का पत्रकार उमेश श्रेष्ठले वरिष्ठ पत्रकार नेपालको पोस्ट रि-पोस्ट गर्दै भनेका छन्– राष्ट्रपति कहाँ छन् ? सार्वजनिक गर्नुप-यो।
त्यस्तै समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले फेसबुकमै भनेका छन्, ‘नेपाली सेनाले आफ्नो परमाधिपति तथा राष्ट्रपति रामचन्द्र पौडेलज्यूको सुरक्षा गर्ने हो। नियन्त्रणमा राख्ने होइन।’
यसैबीच जेनजीका तर्फबाट बुधबार सेनापति सिग्देलसँग सैनिक मुख्यालयमा भएको छलफलमा सहभागी मध्येकी एक तनुजा पाण्डेयले पनि राष्ट्रपति पौडेललाई सार्वजनिक गरिनुपर्ने माग गरेकी छन्।
‘वार्ता छलफल जेजे हुन्छ, त्यो राष्ट्रपतिज्यू सँग हुनुपर्छ त्यो पनि राष्ट्रपति भवनमा नाकी कुनै सैनिक अड्डा ब्यारेक,’ उनले फेसबुकमा लेखेकी छन्, ‘आर्मी सुरक्षा र शान्ति कायमको लागि मात्र सीमित हुनुपर्छ। कुनै सत्ता बनाउने ढाल्ने खेलमा समावेश कदापि हुनु हुँदैन। हामी यो कुरा स्वीकार्नु हुँदैन। साथीहरु राष्ट्रपतिज्यूलाई सेनाले सार्वजनिक गरोस्। राष्ट्रपतिज्यू सँग हुनु पर्छ संवाद।’
यस्तै जेनजीका तर्फबाट अन्तरिम सरकार गठनका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सार्ने मध्येका एक अर्नव चौधरीले पनि राष्ट्रपति पौडेललाई सार्वजनिक गरिनुपर्ने माग राखेका छन्। ‘साथीहरू राष्ट्रपतिज्यूलाई सेनाले सार्वजनिक गरोस्। राष्ट्रपतिज्यू सँग हुनुपर्छ संवाद,’ उनले फेसबुकमा लेखका छन्।