महोत्तरी । जिल्ला कारागार महोत्तरीले कारागारबाट भागेका कैदीबन्दीहरुलाई स्वेच्छाले कारागार फर्किन आग्रह गरेपछि राति नै तीनजना कैदीबन्दी कारागार फिर्ता आएका छन् ।
जिल्ला कारागार महोत्तरीका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले कारागारबाट भागेका कैदीबन्दीहरुलाई स्वेच्छाले फर्किन आग्रह गरेपछि तीनजना रातिनै आइपुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अरु कैदीबन्दीहरुले समेत सम्पर्क गरेको छ, आज दिनभरीमा सबैजना आउन सक्ने सम्भावना रहेको छ ।’’
महोत्तरी र धनुषा जिल्लाका लागि रहेको एकमात्र कारागार जलेश्वरका निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले बुधबार साँझ एक अपिल जारी गर्नुहुँदै २४ घण्टा भित्र स्वेच्छाले कारागार फर्किन आग्रह गर्नुभएको थियो ।
यही भदौ २४ गते साँझ जेनजीहरुको आन्दोलनले गर्दा जलेश्वर कारागारमा रहेका ५७७ कैदीबन्दीमध्ये ५७६ कैदीबन्दी भागेका थिए । मङ्गलबार साँझ ७ बजे लाठीसहित आन्दोलनकारीहरु आएपछि कैदीबन्दीहरु समेत पर्खाल भत्काउँदै भागेको थियो ।
यता मङ्गलबार भागेका कैदीबन्दीमध्ये भारत प्रवेश गर्न खोज्ने १० जना कैदीबन्दीहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा राखेको जनाइएको छ । ति कैदीबन्दीहरुलाई कारागारमा बुझाइएको बारेमा जानकारी माग्दा कारागारका निमित्त कार्यालय प्रमुख ठाकुरले भन्नुभयो, ‘‘आफुलाई पनि मिडिया मार्फत जानकारी भएको छ, आधिकारिक रुपमा सो सम्बन्धी कुनै पनि जानकारी आफुहरुलाई छैन ।’’
भारतीय अखबार प्रभात खबरका सुरसण्डका पत्रकार विजय नारायण मिश्रले नेपालबाट भागेका १० जना कैदीबन्दीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको जानकारी दिनुहुँदै सो मध्ये सात जनालाई भारतीय भिठा थाना तथा तीन जनालाई सुरसण्ड थानामा राखिएको बताउनुभयो ।
भारतीय सुरसण्ड थानाध्यक्ष धनंजय कुमार पाण्डेय तथा भिठा थानाध्यक्ष मनोज कुमारलाई उदृत गर्दै उहाँले माथिल्लो निकायको आदेशमा थप प्रक्रिया अगाडि बढाउने जानकारी दिइएको बताउनुभयो । नियन्त्रणमा लिएका कैदीबन्दीहरु मध्ये आठ जना नेपाली रहेका छन् भने दुई जना भारतीय छन् ।
भारतीय सिमानाकाबाट पक्राउ परेका कैदीबन्दीहरुमा भारतको मोतिहारीको चकिया घर भई लागुऔषध मुद्दामा रहेका गुडु कुमार यादव, जवरजस्ती करणी मुद्दामा कारागारमा रहेका जलेश्वर नगरपालिका वडानं. ८ बस्ने रियाज दफाली, मकवानपुर घर भएका राजेश तामाङ्ग रहेका छन् । यी तीन जनालाई भारतीय सुरसण्ड क्षेत्रबाट नियन्त्रणमा लिइएको छ ।
यसैगरी, धनुषा मुखियापट्टी मुसहरनिया घर भएका रामगुलाम महतो, औरही हसनपुर बस्ने विनोद राय, जनकपुर कुर्था वस्ने इन्द्रेश मण्डल, धनुषा यदुकाहा बस्ने कृष्णकुमार महतो, जलेश्वर बस्ने मोजाहिद अंसारी, महोत्तरी लोहारपट्टी घर भएका सुरेन्द्र साह सोनार, भारतको वैशाली वस्ने मोहन कुमारलाई समेत कारागारबाट भारत भाग्ने क्रममा नियन्त्रणमा लिइएको छ ।