वीरगञ्ज । नेपालको राजनीतिक अनिश्चितताका कारण नेपाल–भारत सीमा व्यापार ठप्प भएको छ । मंगलबार भएको विरोध प्रदर्शन तथा तोडफोडका कारण भन्सार जाँचपास तथा यातायात ठप्प हुँदा अहिले भारततर्फ सयौँ सवारीसाधन रोकिका छन् । सर्वसाधारणको आवतजावत बन्द हुँदा यसले सीमावर्ती भारतीय बजारको व्यापार समेत प्रभावित पारेको छ ।
काँकडभिट्टा, रानी, वीरगञ्ज, बेलहिया, रुपडियाजस्ता नेपालका प्रमुख नाकामा अहिले कर्फ्यु आदेश जारी छ । त्यसअघि आगजनी र सडक अवरोधका कारण मालवाहक सवारीसाधनको आवतजावत रोकिएको छ । मेसिनरी, औषधि, इन्धन तथा आलु–फलफूलजस्ता नासिने वस्तु बोकेका ट्रक चालकहरू दिनौंसम्म सीमामा रोकिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनीहरूलाई खानपान र पानीको आपूर्तिमा समस्या भइरहेको बताइएको छ ।
यो अवरोधले पश्चिम बंगाल र विहारका ट्रक तथा कन्टेनर व्यवसायीलाई दैनिक दुईदेखि अढाई अर्बसम्म नोक्सान भइरहेको भारतीय अनलाइन पत्रिका मनी कन्ट्रोलले जनाएको छ । तरकारी तथा फलफूलजस्ता सामान कुहिने अवस्थामा पुगेका छन् । जोगबनी बजारमा मात्र करिब ५ अर्ब रुपैयाँ बराबरको व्यापार ठप्प भएको व्यापारीहरूले बताएका छन् । यसले स्थानीय दुई हजार भन्दा धेरै ज्यालादारी मजदुरलाई समेत प्रभावित पारेको बताइएको छ ।
रक्सौलस्थित इन्डो-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजकुमार गुप्ताले भने, ‘नेपालको करिब ७० प्रतिशत व्यापारिक क्रियाकलाप भारतीय व्यापारीहरूसँग सम्बन्धित छ । यस अवरोधले सम्पूर्ण क्षेत्रलाई ठूलो आघात पुर्याइरहेको छ ।’
रक्सौल नाकाबाट मात्र दैनिक ६०० भन्दा बढी मालवाहक गाडी नेपाल आउँथे । तर एकीकृत जाँच पोस्ट बन्द हुँदा अत्यावश्यक वस्तुको आपूर्ति श्रृंखला पूर्ण रूपमा अवरुद्ध भएको छ । भारतले ३१० भन्दा बढी इन्धन र एलपीजी बोकेका ट्याङ्कर र ट्रकहरू फर्काइएको छ, यसले गर्दा ऊर्जा अभाव हुने सम्भावना देखिएको छ ।
उता पश्चिमतर्फको सुनौलीमा हुने दैनिक ५ करोडको कारोबार अहिले प्रभावित भएको छ । रुपैडिया बजार समेत अहिले सुनसान रहेकको रूपैडिहामा नगरपञ्चायत अध्यक्ष डा. उमाशंकर वैश्य बताउँछन् ।
सीमावर्ती क्षेत्रमा असुरक्षा बढेको भन्दै अहिले भारतीय सीमा सुरक्षा बलले गस्ती बढाएको जनाएको छ । दार्जिलिङ प्रहरीले अलपत्र परेकाहरूका लागि २४ घण्टा हेल्पलाइन सुरु गरेको छ ।
भारतको विदेश मन्त्रालयले भारतीय नागरिकलाई नेपाल यात्रा नगर्न आग्रह गरेको छ । एयर इन्डिया र इन्डिगो लगायतका विमान कम्पनीहरूले उडान रद्द गरिरहेको रिपोर्ट भारतीय सञ्चार माध्यमहरुले गरेका छन् ।