महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाबाट शुक्रबार स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा एक जना नेपाली तथा एक जना भारतीय नागरिक रहेको जनाइएको छ । निषेधाज्ञाको समयमा भारतबाट नेपाल तर्फ आइरहेको बेला शङ्काको आधारमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा दुई जनालाई स्रोत खुल्न नसकेको अवैध भारतीय रुपियाँसहित पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा जलेश्वर नगरपालिका वडानं. १२ बस्ने वर्ष ५२ को विजय भन्ने विमलकुमार चौधरी तथा भारतको सितामढी सुरसण्ड वस्ने वर्ष ४६ को मनोज साह रहेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीका सुचना अधिकारी अशोक वमले जलेश्वर नगरपालिका वडानं. ३ को रातो पुल नजिक भारतबाट नेपाल आइरहेको बखत शङ्काको आधारमा चेकजाँच गर्दा दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
उहाँले शङ्काको आधारमा दुई जनालाई भारतीय ६-७ लाख रुपियाँसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउनुहुँदै भन्नुभयो, ‘‘हामी बुझ्दैछौं, उनीहरूकै रकम हो कि अरूको हो ? रकमको श्रोत के हो ? थप बुझेर जानकारी गराउँछौं ।’’
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई बुझाएको जानकारी दिनुभयो ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी शैलेन्द्रकुमार भट्टसँग सोध्दा उहाँले एक जनालाई हाम्रो कस्टडीमा छाडिएको छ तर थप जानकारी आफुसँग नभएको बताउनुभयो ।
स्थानीयवासीहरूले सशस्त्र प्रहरीले दुई जनालाई बढी रकमसहित पक्राउ गरे पनि बार्गेनिङ गर्नका लागि थोरै रकम देखाएको आरोप लगाएका छन् ।