जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको कुरा फेसबुकमा लेखेका मुख्यमन्त्री सतिशकुमार सिंह आफ्नो लिखित तथा सार्वजनिक वचनबाट पछि हटेका छन्। अन्तरिम सरकार गठनपछि उनले फेसबुकमा तत्कालकोलागि राजिनामा दिएको लेखेपनि प्रदेश प्रमुख कार्यालयमा राजिनामा नदिएको जनाएका हुन्।
जेनजीको भदौ २४ गते आन्दोलन चर्किंदा पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतले उनलाई राजिनामा दिन निर्देशन दिएका थिए। त्यसपछि सिंहले फेसबुकमा आफ्नो राजिनामा पोष्ट गरेका थिए।
मधेशका विषम परिस्थितिमा‘कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पतिको क्षति नहोस् भनेर राजिनामा दिनुपर्छ भनेर आफु तयार रहेको र त्यस दिन प्रदेश प्रमुख नरहेकोले राजिनामा दिन नसकिएको उनले जनाए।
उनले त्यस दिन फेसबुकमा ‘नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ भनेर लेखेका थिए।
नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने आफ्नो अटल विश्वास रहेको उनले भनेका थिए। जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’ उनको फेसबुकमा लेखिएको थियो।
मुख्यमन्त्री सिंहले ‘सिस्टम चेन्जको म स्वागत गर्छु । तर राम हटेर श्याम आउन, श्याम हटेर भरत आउनको लागि आफु नभएको भन्दै आप्mनो फेसबुके राजिनामा वक्तव्यबाट पछि हटेका हुन्। पहिलेको र अहिलेको परिस्थिति फरक रहेकाले राजीनामा नदिने उनले प्रष्ट पारेका छन्।
उनलाई राजीनामा दिन आन्दोलनको बेला जनमतका अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका थिए। त्यसपछि सिंहले फेसबुकमा राजिनामा वक्तव्य लेखेका थिए।
लिखित राजीनामा मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री सिंहको राजीनामा पत्र कार्यालयमा प्राप्त नभएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
सतिशकुमार सिंह २५ जेठ २०८१ मा नेकपा एमाले लगायत ७ दलको समर्थनमा मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए। नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी भएको थियो, नेकपा माओवादी बाहिरिएको थियो।