वीरगञ्ज । देशभर फैलिएको जेन जेड (Gen Z) आन्दोलनका क्रममा पर्सा जिल्लामा नेकपा (एमाले) का केन्द्रीय सदस्य राजकुमार गुप्ताको निजी निवास र पार्टी कार्यालयमा भएको आगजनीप्रति राष्ट्रिय युवा संघ नेपाल, पर्सा जिल्ला कमिटीले कडा भर्त्सना गरेको छ। सोमबार जारी विज्ञप्तिमा संघले यस्ता आपराधिक गतिविधिले आन्दोलनको मूल उद्देश्य नै धमिल्याउने र शान्तिपूर्ण प्रदर्शनलाई हिंसातर्फ धकेल्ने चेतावनी दिएको छ।
संघले विज्ञप्तिमा भनेको छ, “राजकुमार गुप्ताको निवास र एमाले पार्टी कार्यालयमा गरिएको आगजनी जस्तो घटनाले समाजमा भय फैलाउने मात्र होइन, संविधान र लोकतान्त्रिक मूल्यमाथि खुला धावा बोलेको छ।” विज्ञप्तिमा दोषीलाई तत्काल छानबिन गरी कानुनी दायरामा ल्याउन र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
आगजनीसँगै आन्दोलनका क्रममा देशभर ७२ जनाभन्दा बढी निर्दोष नागरिकले ज्यान गुमाउनु र एक हजारभन्दा बढी घाइते हुनु दुःखद र स्तब्ध पार्ने घटना भएको संघले उल्लेख गरेको छ। विज्ञप्तिमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार र राहतको पूर्ण व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरिएको छ।
राष्ट्रिय युवा संघ नेपाल, पर्सा जिल्ला कमिटीले सबै युवालाई आफ्ना अधिकारका माग शान्तिपूर्ण, लोकतान्त्रिक र संवादमैत्री ढङ्गले अघि सार्न अनुरोध गर्दै, संविधान र लोकतान्त्रिक मूल्यको रक्षा, युवाको अधिकार सुनिश्चितता र समाज रूपान्तरणको अभियानमा निरन्तर संघर्षरत रहने अडान व्यक्त गरेको छ।
