वीरगञ्ज । हालै पर्साको वीरगञ्जमा फैलिएको हैजापछि सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा (SODCC) ले जनचेतना अभियानलाई तीव्र पारेको छ । युनिसेफको आर्थिक सहयोग र वीरगञ्ज महानगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी पर्साको समन्वयमा SODCC ले नगरका प्रत्येक वडामा होर्डिङ बोर्डसहितको क्याम्पिङ सञ्चालन गर्दै जनतालाई सचेत गराइरहेको छ ।
समितिले क्याम्पिङमार्फत हैजाबारे सचेतना फैलाउनुका साथै घर–घरमा पुगेर पिउने पानीको नमूना संकलन गरी परीक्षण गर्ने, सरसफाइबारे स्थानीय बासिन्दालाई भेला गरी आवश्यक जानकारी दिने कार्य निरन्तर जारी राखेको छ ।
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहीम देवानले भने,“वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि प्रत्येक निकायले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । हाम्रो समिति समुदायस्तरमै पुगेर जनतालाई सचेत गराउने, पानीको नमूना परीक्षण गर्ने र सरसफाइबारे शिक्षित गर्ने कार्यमा निरन्तर सक्रिय छ । यो प्रयास सफल बनाउन स्थानीयको सहकार्य अति जरुरी छ, त्यसैले सबैलाई सुरक्षित पानी र सरसफाइमा ध्यान दिन अपिल गर्दछौं ।”
SODCC को सक्रियता प्रति स्थानीय बासिन्दाले समेत खुशी व्यक्त गरेका छन् । वीरगञ्ज–१३ का अनिल कुशवाहाले भने , “SODCC का टोली हाम्रो वडामा आएर पानीको नमूना लिएर परीक्षण गरिदिएका छन्, सरसफाइबारे उपयोगी सन्देश दिएका छन् । यस्तो प्रयासले हामीलाई हैजा नियन्त्रणमा ठूलो मद्दत पुर्याउँछ ।”
त्यस्तै, स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहाले भने,“हैजा जस्ता रोग रोकथाममा समुदायमा पुगेर जनचेतना फैलाउनु सबैभन्दा प्रभावकारी उपाय हो । SODCC ले गरेको प्रयास सराहनीय छ र यसले जनस्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ ।”
युनिसेफ र नेपाल रेडक्रस सोसाइटी पर्साले पनि SODCC को अभियानलाई आवश्यक प्राविधिक र सामग्री सहयोग गर्दै जनचेतनामूलक कार्यक्रम निरन्तरता दिने बताएका छन् ।