बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा ठूलो मात्रामा गाँजा बोकेको मिनी ट्रक सहित चालक पक्राउ परेका छन् ।
शनिबार दिउँसो करिब १ बजेतिर अमलेखगंजस्थित प्रहरी चौकी अगाडि गरिएको चेकजाँचका क्रममा हेटाैँडादेखि विरगञ्जतर्फ जाँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रक रोकि चेकजाँच गर्दा प्रहरीले गाँजा फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगंजका बरिष्ठ सई धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मिनि ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपेर लुकाइछिपाइ गरिएको अवस्थामा प्रहरीले २८ पोका गाँजा फेला पारेको हो ।
उक्त गाँजा प्लास्टिकमा प्याक गरिएको र तौल गर्दा करिब २३६ किलो ७५० ग्राम रहेको पुष्टि गरिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए ।
गाँजासहित मिनि ट्रक र ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १० बस्ने ३८ वर्षीय रमेश रुम्बालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा, मिनि ट्रक र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय अमलेखगंजमै राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।