काठमाडौं। जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्था नभए फेरि सरकारविरूद्ध सडकमा उत्रिने चेतावनी दिएका छन् ।
हिमालय टेलिभिजनको यक्ष प्रश्नमा दिएको अन्तर्वार्ता मा उनले अब संविधान संशोधन गरेरै भए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्थामा जानुपर्ने बताएका हुन् ।
उनले यदि यो व्यवस्थामा जान नसके जेनजीले फेरि सडकमा सरकारविरूद्ध प्रदर्शन गर्ने चेतावनी दिए । उनले भने, ‘हाम्रो (जेनजी उमेर समूह) माग नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो। यही नै पूरा नभए त हामीले बनाएकै सरकारविरूद्ध सडकमा उत्रिनुपरे तयार हुन्छौं ।’
उनले देशमा विकास र विस्तारको नाममा राजनीतिको चरम दुरूपयोग, भ्रष्टाचार र आलोपालोको व्यवस्थाले दलहरूले पटक-पटक विश्वास तोडेकाले यो व्यवस्थामा जानु पर्ने जिकिर गरे । ‘हामीले पटक-पटक देख्यौं, भोट दियौं । विश्वास गर्यौ। तर उहाँहरूले विश्वास नै दिलाउन सक्नुभएन। अब त विश्वास नै छैन। त्यसकारण यो व्यवस्था ठीक होइन,’ उनले भने, ‘अब दलहरुको म्युजिकल चेयर अति नै भयो। अब सुध्रिन र नयाँ व्यवस्था जरूरी छ।’
लिडर भन्दा डिलर आउने होडबाजी
त्यसो भए दलीय व्यवस्था बेठीक हो भन्ने प्रश्नमा उनले दलसहितकै व्यवस्थामा गए पनि पुराना नेताहरूलाई विदाइ गर्नुपर्ने बताए। तर यहाँ लिडर भन्दा डिलरहरू आइदिनाले थप समस्या भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘ खासमा अहिलेको राजनीतिक दलहरूले विश्वास दिलाउन सकेनन्। उहाँहरूले विश्वास दिलाउन सक्नुभएन। तर हामी दलसहितकै व्यस्थामा जाने हो। तर डर भने लिडर भन्दा पनि डिलरहरूको छ यहाँ।’
आफूहरूले चलाएको सेप्टेम्बर ८को भ्रष्टाचार र नेपोबेबिजको मुभमेन्टले यस्तो विकराल रुप लेलान् भन्ने कल्पनासमेत नगरेको भन्दै उनले अकल्पनीय क्षति भएको सुनाए। तर यी सबै क्षति लिडर बन्ने जेनजी पुस्ताभन्दा पनि डिलरवाला समूहले आफ्नो स्वार्थ पूरा गराउन लागिपरेको आरोप लगाए।

‘यहाँ केही गर्न खोज्यो की फुत्त लिडरभन्दा पनि डिलरवालाहरू निस्केर आइहाल्छन् । जेनजीको आन्दोलन पनि यसरी नै कब्जा भइदियो। हामी त लिडरलेस मुभमेन्ट चलाएका थियौं,’ उनले भने ‘ तर यहाँ त अदृश्य शक्तिहरू फुत्त फुत्त आएर आफ्नो बसमा आन्दोलनलाई पारिहाल्नुभो ।’
आफ्नै साथीहरूले झोलेको ट्याग भिराए, अनि म २३ र २४ गतेको प्रदर्शनमा आइनँ
जेनजी अभियन्ता ढुंगानाले भने आफूलाई साथीहरूले नै दुर्गा प्रसाईको झोले भनेर ट्याग लगाएपछि भदौ २३ र २४ गते काठमाडौंलगायत देशभर भएको जेनजी प्रदर्शनमा उपस्थित नभएको बताए । उनले आफू त्यो दिन घरमै बसेको पनि स्वीकार गरे ।
‘मेरो ग्रुपले दुर्गा प्रसाईलाई नआउन आग्रह गर्दा उसैले कालो झण्डा देखाउँछु, प्लेकार्ड देखाउँछु भनेर राजनीति गरिदिनुभयो, ‘ उनले भने, ‘ त्यसपछि आफ्नै साथीहरूले मलाई दुर्गा प्रसाईको झोले बनेको भन्दै ट्याग लगाइदिए ।अनि चित्त दुख्यो र भदौ २३ र २४ गते म प्रदर्शनमा आइनँ।’
हामी नेपालसँग कुनै सहकार्य थिएन, तर राजनीति भइदियो
जेनजी आन्दोलनका क्रममा हामी नेपाल नामक संस्थासँग आफूहरुको कुनै औपचारिक सहकार्य नभएको उनको भनाइ छ । उनले भने, ‘ माइतीघरमा सुदन गुरूङ र हामी नेपाल संस्था सँग औपचारिक रुपमा सहकार्य नै थिएन। तर हेडलेस मुभमेन्ट भएकाले थुप्रै ग्रुपका साथीहरू आउनुभयो। उहाँहरू पनि पानी र स्वयम सेवा गर्छु भनेर आउनुभयो। यस्ता जेनजीका थुप्रै ग्रुपहरू थियो। तर नेतृत्वविहीन थियो।’
उनले जेनजीको योजना (प्लान) शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने नै भएपनि बीचमा हामीबीचमै राजनीति भएको स्वीकार गरे । ‘ एक त हामी शान्तिपूर्ण प्रदर्शन गर्ने प्लानमा थियौं। तर भइदियो अर्कै। हामीबीचमै राजनीति भइदियो। मैरै साथीहरूले मलाई नै झोले भनिदियो। अर्कोले अर्कोलाई यसकारण यहाँ अर्को स्वार्थी समूहले कब्जामा लियो अनि नेता बन्न खोज्यो।’
सिंहदरबार जलेको भिडियो र ड्रेस लगाएको विद्यार्थीमाथि हानेको गोलीले मन पोल्यो
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका घटनाले आफूलाई नराम्री विक्षिप्त बनाएको उनले बताए । ‘खासगरी जेनजी आन्दोलनका नाममा सिंहदरवारमा आगजनी र प्रहरीले स्कुल ड्रेस लगाएका कलिला विद्यार्थीमाथि चलाएको गोलीले मेरो मनलाई विक्षिप्त बनायो।मलाई थप चिन्ता लाग्न थाल्यो।’
जलिरहेको सिंहदरबारको भिडियो हेरिरहँदा यो पक्कै जेनीजी समूहका युवाहरूले नभइ अर्कै स्वार्थी समूहले लगाएको आगो भएको उनको बुझाइ छ। उनले उल्टै प्रश्न गरे, ‘ जेनजी समूहलाई कसरी थाहा हुन्छ त्यत्रो दरबारमा आगो लगाउने र ग्रिल भत्काउने ? यहाँ त फुत्त बाहिरबाट कोही आएर चलाखीपूर्ण तरिकाले सिंहदरबार र अरूको सम्पत्तिमाथि आगो लगाएको हुनुपर्छ।’
प्रहरीले स्कुल ड्रेसमा आएको विद्यार्थीमाथि बर्बरतापूर्वक गोली ताकी ताकी हान्नुले राज्यको र सरकारको दमन भएको उनको आरोप लगाए । ‘ यसरी स्कुल ड्रेसमै ताकी ताकी गोली हान्नु त सरकार र प्रहरीको चरम दमन हो। यस्तो हामीले सोकेका थिएनौं’ उनले भने, ‘ हामी युवाहरू आएर देशमा केही परिवर्तन हुन्छ की भनेर सडकमा आएका थियौं। यो हेडलेस रेभुलुशन थियो। जसमा कोही लिडर थिएन।पछि सरकारले वार्तामा बोलाउला र भ्रष्टाचारबारे हाम्रो आवाज सुनिदेला भन्ने थियो। तर सब अर्कै भयो।’
नचिनेको नम्बरबाट ज्यानमार्ने धम्की
मिरज ढुंगानाले आफूलाई जेनजीको प्रदर्शनपछि नचिनेको नम्बरबाट तान्तार फोनमा ज्यान मार्ने धम्की आएको अन्तर्वार्तामा खुलाएका छन्। उनले भने, ‘मैले जेनजी आन्दोलनपछि नचिनेको नम्बरबाट ज्यानमार्ने धम्की सहनुपर्यो। फोन खोल्यो की नचिनेको नम्बरबाट भाई तिमी कहाँ हो ? आऊ बसेर कुरा गरम्। वा तँ कहाँ छस् तलाई सिध्याउँछु भन्ने खालका धम्कीहरू आउन थाले। अनि मैले मोबाइल अफ गरे। मैले थप आफूलाई सुरक्षित राखे। ‘
उनले ज्यानमार्ने धम्कीपछि आफू घरबाट अन्तै गोप्य ठाउँमा गएर बस्नुपरेको अन्तर्वार्तामा बताएका छन् । ‘मलाई नै सुरक्षा थ्रेट आएपछि म गोप्य ठाउँमा जान बाँध्य भए।तर गोप्य ठाउँमा गए पनि जेनजी आन्दोलनपछिका सबै गतिविधिहरू भने नियालिरहे ।’ उनले भने, ‘ त्यहाँ त जेनजीका नाममा अनेक समूहहरू आएर माग नै अर्कै अर्कै राख्न थाले।’
उनले जङ्गी अड्डामा सेनासँगको वार्तामा र राष्ट्रपतिसँगको वार्तामा पनि आफूलाई नबोलाएको तर आफ्नो नाममा विभिन्न समूहहरू गएको गुनासो गरेका छन् । ‘ म सेनासँगको वार्तामा पनि सहभागी भइनँ। न त राष्ट्रपतिसँगको वार्तामा सहभागी भए। किनकी मेरै साथीहरूले तिमी नआऊ, हामी सब सम्हाल्छौं भन्नुभयो। तर मेरो नाममा विभिन्न जेनजी समूहहरू सक्रिय भएर मेरो राजनीति गरे।’
तपाईंलाई कसैले उपयोग गरेर फ्याँकिदिएको हो ? भन्ने प्रश्नमा उसले त्यस्तो नभएको भन्दै आफू राजनीतिमा आउन नचाहेको बताए। ‘ मैले त हाम्रो आवाज हामीसँगै बोलेका हौं। हामी मिलेर देशबाट भ्रष्टाचार हटाऔं भनेका हुँ। राजनीति नै गर्न भने चाहना छैन मेरो। मलाई मेरै बिजनेस लाइफ ठीक छ।’
तर जेनजीका मागहरू कतिपय पूरा नभएको उनको गुनासो छ । ‘ आन्दोलन अगाडि सेप्टेम्पर ८ ल्याउन कसैले केही चाहेको थिए । तर यो प्रदर्शनले यस्तो विकराल रुप लियो। हाम्रो माग ओझेलमा पर्यो।बीचमा अर्कैले खेल्दियो।’
उनले आफूहरू सेप्टेम्बर ८ का लागि ३ दिन अगाडिदेखि शान्तिपूर्ण र्याली माइतीघरमा गर्ने तयारी भएको सुनाए। ‘मैले पनि यही फेसबुकमा पोस्ट देखेर सेप्टेम्बर ८को लागि माइतीघरमा जुट्न आह्वान गरेको हुँ।हाम्रो ठोस लिडर थिएन। आफैं आफैं सामाजिक सञ्जालमा आह्वान गरेका थियौं।तर दुर्भाग्य यस्तो दुर्घटना र अमानवीय घटनाहरू देख्नुपर्यो। जेनजी साथीभाइले ज्यान गुमाउनु पर्यो। यो बडो दु:खद भयो। ‘
अनि मर्नदेखि डर लागेन र बाहिर निस्किन थाले..
जेनजी आन्दोनलका क्रममा गोली लागेर ७४ जनाको मृत्युको खबर अनि सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी संरचनाहरू जलेको दृश्यहरू हेरेपछि आफूलाई डर हराएको उनले बताएका छन्। ‘ सबैचिज जलिसकेपछि भने मलाई डर र चिन्ता लाग्न छाड्यो। सिंहदरबार जलिरहेको देखे। सर्वोच्च अदालत जलेको देखें। सरकारी तथा निजी सम्पत्ति जलाइएको देखेपछि मर्नदेखि पनि डर लागेन। देशप्रति झन चिन्ता लाग्यो। म त्यसपछि बाहिर निस्किन थाले।’ उनले भने ।
यो आन्दोलनको सम्पूर्ण क्षतिको दोष त तपाईंमाथि पछि लाग्ला नि भन्ने प्रश्नमा उनले आफूहरू त्यस्तो गतिविधिमा संगल्न नरहेको स्पष्टीकरण दिए । उनले भने, ‘ यसको जिम्मा त मैले मात्र कसरी लिन सक्छु र ? हामी त नेतृत्वविहीन समूह थियौं। कस्ले गर्यो यो अराजक समूह। यसबारेमा छानबिनबाटै हुनुपर्छ।’
परिआए आगामी चुनावमा उम्मेदवार बन्न तयार
उनले आफू तत्काल सरकारमा नजाने तर परिआएर आगामी चुनावमा उम्मेदवार हुन सक्ने खुलासा गरे । ‘आफूले मिलेसम्म अरूलाई दिने तर परिआएमा म आफैं पनि उम्मेदवार बन्न सक्छु। यसका लागि मैले आमाबुवासँग पनि राजनीतिमा होमिसकेको कुरा अनुमति लिइसकेको छु।’ तर तत्काल चाहिँ आफू सरकारमा नजाने उनले स्पष्ट पारे।
‘म अहिले यो सरकारमा जाँदिन। तर यदि यस्तै तरिकाले सरकारले हाम्रो माग सुनुवाइ गरेन भने आगामी चुनावमा म पनि उम्मेदवारी दिन तयार हुन्छु। सडकमा मोर्चा बनाएर सरकारको विरोधमा उत्रिन्छु।’
उनले अब आउने लिडरहरू योजनासहितको आउनुपर्ने बताए। तर अहिलेको सरकारसँग भने आफू त्यति सन्तुष्ट नभएको उनको भनाइ छ। ‘हामीले भनेर अनुसारको भएको छैन।म अहिलर्को सरकारसँग त्यति सन्तुष्ट छैन।’ उनका अनुसार सरकारमा जानलाई पनि अदृश्य शक्तिहरूले खेल खेलिरहेका छन्। ‘यहाँ राजनीति धेरै छ। हाम्रो इच्छाविपरीत गएर कामहरू भइरहेका छन्। सरकार बनाउने काम पनि भइरहेका छन्। यस्तो हुनुहुँदैन।’
उनले बोल्ने मान्छे नभइ दक्ष सीप र योजना भएको नेता देशमा चाहिएको प्रस्ट पारे। ‘हामीलाई बोल्न सक्ने मान्छे चाहिएको होयन। सीपयुक्त दक्ष नेतृत्व र योजनासहितको देश हाक्ने मान्छे चाहिएको हो। तर यहाँ बोल्न जान्यो की सरकारमा लगिहाल्छन्। जुन गलत हो।’ उनले भने।
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने हाम्रो माग थिएन
उनले प्रधानमन्त्रीमा सुशिला कार्कीलाई ल्याउनुपर्ने जेनजीको खास माग नभएको दाबी गरे । ‘ हाम्रो खास माग त सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने थिएन। हामीले त्यस्तो भनेका थिएनौं। तर कसैले लिएर आइदियो,’ उनले भने, ‘अब जेनजीको बलिदानीलाई कदर गरिएन भने परिआए फेरि यसको विरूद्धमा फेरि बोल्छौं।’
उनले संसद विघटनमा सहमति भएपनि दलीय सरकारप्रति सहमति नरहेको जिकिर गरे । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो माग हो। यो पुरा भएको छैन। हाम्रो आगामी निर्वाचनमा यसरी गएन भने हामी फेरि विरोधमा उत्रिन्छौं। हामीले बनाएको सरकारले मानेन भने जेजे गर्नुपर्छ, गर्न तयार छु।’
राजनीतिमा आलोचनात्मक चेतको जागृत ल्याउन जरूरी
अबको यात्रा चाहिँ राजनीतिमा आलोचनात्मकचेतको जागृत गराउने नै मुख्य जिम्मेवारी हुनुपर्ने उनको बुझाइ छ। उनले भने, ‘ हामीले देशमा चेतना दिनु नै जरूरी छ। यहाँ बोल्न जान्दछ भन्दैमा राजनीति गरिरहेकाले बिग्रिएको हो। किनकी देश चलाउन त सीप चाहिन्छ। जुन हाम्रो देशमा छैन। सीपयुक्त र देश हाक्न सक्ने क्षमता भएको हुनुपर्छ। अनि मात्र अगाडि बढ्छ।’
अब आफू सामाजिक कर्म र देश रुपान्तरणका लागि निस्किने उनले सुनाए। ‘ म अब सामाजिक काम र देश रुपान्तरका लागि लाग्छु। यही देशमा केही गर्छु ।यही मेरो उद्देश्य हो। ‘