भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई देशभक्त बनाउनुपर्ने बताएका छन् । देश र जनतालाई माया गर्ने युवा पङ्क्ति बनाउनुपर्नेमा उनले जोड दिए ।
भक्तपुर स्थित गुण्डु निवासमा मंगलबार युवा सङ्घका नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ पुस्ता देश र समाजप्रति जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
‘हामी आफू अत्यन्तै जिम्मेवार नागरिकको रूपमा,देश बनाउने कर्मठको रूपमा जानुपर्दछ’ अध्यक्ष ओलीले भन्नुभयो ‘हाम्रो आनीबानी, व्यवहार,बोलीचाली अत्यन्तै मिठो,सुमधुर हुनुपर्दछ । समाज उपयोगी हुनुपर्दछ ।’
असभ्य र गैह्र जिम्मेवार हुनु युवापन नभएको उहाँको भनाइ छ । युवाहरूले छलकपट हैन इमानदार हुन सिक्नुपर्ने उनको भनाइ छ ।
‘सामाजिक सञ्जालको प्रभावमा पर्ने,डिजिटल प्लेटफर्महरूमा सहभागी हुने र त्यसको सदुपयोग गरिरहेको छु कि छैन भनेर राम्ररी बिचार नगरीकन हल्काफुल्का ढङ्गले चल्ने प्रवृत्तिहरू बढेका छन् ’ अध्यक्ष ओलीले भने,‘यस प्रवृत्तिलाई हामीले अन्त्य गर्नुपर्दछ ।’
नेपालीलाई भिसा नदिने,काम नदिने अवस्था भएको अध्यक्ष ओलीले बताए। उनले नेपाल बद्नाम अवस्थामा पुगिसकेको उनले बताए ।यस्तो बद्नामीबाट देशलाई बचाउनु हाम्रो कर्तव्य भएको उनको भनाइ छ ।
‘नेपाल इमानदार र कर्मठ मान्छेको देश हो । अत्यन्तै जिम्मेवार र सभ्य मानिसहरूको देश हो । एउटा सभ्यताको लामो इतिहास भएको देश हो र त्यो सभ्यतालाई विकास गरेर लैजान तम्तयार नयाँ पिँडी भएको देश हो भनेर हामीले अगाडी बढाउनु पर्दछ ’अध्यक्ष ओलीले भने ।
देशमा हालैको आन्दोलनले देशमा ठुलो क्षति भएको र यस क्षतिबाट उठाएर देशलाई अघि बढाउनु पर्ने उनको भनाइ छ ।
फेरी यस प्रकारका घटना हुन नदिन सङ्गठित भएर जानुको विकल्प नभएको उनले बताए । उनले युवालाई हिम्मत र हरेस नखान आग्रह गरेका छन् । ‘सिंहदरबार जलाइयो । कसले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन’ अध्यक्ष ओलीले भने ‘अरू नै कुनै घुसपैठिया तत्त्वले गरे जो पहिले देखि नै भन्दै थिए त । सिंहदरबार जलाउँछु भनेर । यो एउटा योजनाबद्ध काम हो ।’
उनले बादल लागे पनि फेरी बादल फाट्ने र साँझ पर्यो भन्दैमा बिहान उज्यालो नहुने होइन भनेर बुझ्नुपर्ने बताए ।