जनकपुरधाम । मधेश प्रदेश सरकारको नेतृत्व गरेको जनमत पार्टी सदनमा प्रतिपक्ष बेन्चमा बस्न सुरु गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहसँगको मतभेदपछि असन्तुष्ट बनेका जनमतका सांसदहरू विपक्षी बेन्चमा बसेका हुन् ।
जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका थिए ।
तर, पछि उनले राजीनामा नदिने अडान लिएपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीसहित दुई मन्त्रीलाई फिर्ता बोलाएको थियो ।
जनमतले प्रदेश सभामुख रामचन्द्र मण्डललाई ३१ भदौमा सरकारलाई गरेको समर्थन फिर्ता लिएको पत्र समेत पठाएको थियो । सोही पत्रका आधारमा जनमतका सांसदलाई प्रतिपक्षी बेन्चमा बस्ने व्यवस्था समेत मिलाइएको थियो ।
यद्यपि मुख्यमन्त्री सतिशकुमार सिंह भने सत्ताकै कित्तामा बसेका थिए ।
‘जेनजीको आन्दोलनको क्रममा मुख्यमन्त्रीले फेसबुकबाट राजीनामा घोषणा गरिसक्नुभएको छ। जनमत पार्टीका दुई मन्त्रीले राजीनामा पनि गरिसक्नु भएको छ । आफ्ना मुख्यमन्त्री र दुई मन्त्रीलाई फिर्ता बोलाइसकेको पत्र प्रदेश सभामा बुझाइसकेका छौं । हामी स्पष्ट पार्न चाहन्छौं, हामी विपक्षी दलको बेन्चमा छौं’ जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले भने ।
उनले मुख्यमन्त्री सिंहलाई लक्षित गर्दै जनमत संघीयता विरोधी रहेको भनेर भन्न थालेको भन्दै आक्रोश व्यक्त गरे ।
जेनजी आन्दोलनको क्रममा आगजनीका कारणले जलेको मधेश प्रदेश सभा भवनमै आज बैठक बसेको थियो ।
जेनतेन मर्मत सम्भार र कुर्सीहरू राखेर प्रदेशसभा बैठक आजदेखि सुरु गरिएको हो ।
आजको बैठकमा देशको पछिल्लो घटनाक्रमलाई लिएर संघीयता सबलीकरणमाथि दलका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए ।
सो क्रममा मुख्यमन्त्री सिंहले आफूले संघीयता बचाउनकै लागि फेसबुकमा राजीनामा घोषणा गरेको बताए ।
आफूले विज्ञहरूको सल्लाह-सुझाव अनुसार राजीनामा नदिएको मुख्यमन्त्री सिंहको तर्क छ ।
उनले आफूले सदन फेस गर्ने कुरा पहिले नै स्पष्ट पारिसकेको समेत बताए ।
बैठकमा सांसदहरूले संघीयता लोकतन्त्र गणतन्त्रको रक्षा गर्नुपर्ने र त्यसकका लागि कुनै पनि कदम चाल्न आफूहरू तयार रहेको बताएका थिए ।