वीरगञ्ज, असोज ७ । स्टार्ट नेटवर्क तथा मेरसा डु मोन्ड फ्रान्सको सहकार्यमा आसमान नेपालले सञ्चालन गरिरहेको हैजा तथा झाडापखाला प्रकोप रोकथाम तथा प्रतिकार्य कार्यक्रमअन्तर्गत एक दिने अभिमुखीकरण तालिम वीरगञ्ज महानगरपालिका–२५ र २३ नम्बर वडामा सम्पन्न भएको छ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई हैजा तथा झाडापखालाबाट जोगिने उपाय, सरसफाई, पुनर्जलीय घोल तयार गर्ने तरिका, पियुष प्रयोग गरेर पानी शुद्ध गर्ने तरिका, हात धुने तरिका लगायतका विषयमा जानकारी दिइएको थियो। साथै, हात धुने र पानी शुद्धिकरण गर्ने विषयमा प्रयोगात्मक सिकाइसमेत गराइएको थियो।
तालिमपछि सहभागी स्वयंसेविकाहरूले समुदायमा घर–घर पुगेर साबुनपानी प्रयोग गरी हात धुने तरिका र सुरक्षित पानी पिउने अभ्यासबारे जनचेतना फैलाउनेछन्।
कार्यक्रममा वडानं २०, २३, २५ र १७ का गरी ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। प्रशिक्षण हेल्थ पोस्ट इन्चार्ज शत्रुधन यादव र बवनप्रसाद सिंहले दिएका थिए।
साथै कार्यक्रममा स्वास्थ्य महाशाखा वीरगञ्जका प्रमुख राजु प्रसाद शाह, आसमान नेपालका कार्यक्रम अधिकृत वीरञ्जन प्रसाद यादव, धर्मेन्द्र चौरसिया, सामाजिक परिचालक राजु पटेल, रिता शाह, नितेश शाहलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा स्वयंसेविकाहरुलाई एक/एक थान बाल्टिन, साबुन, १९ पियुष, सेनिटाइजर र पानी खाने बोतल हस्तान्तरण गरिएको थियो।