पर्सा । पकहा मैनपुर गाउँपालिकामा अध्यक्ष सुरेश मेहताको एकलौटी प्रवृत्तिका कारण लामो समयदेखि बजेट अवरुद्ध भएको छ। उपाध्यक्षदेखि वडाअध्यक्षहरूसम्मको बारम्बार आग्रह बेवास्ता गर्दै मेहताले गाउँपालिकाको सम्पत्ति आफ्नै निजी सम्पत्ति झैं प्रयोग गर्न खोजेपछि असन्तुष्टि चुलिएको हो।
२०८२ असारमा गाउँपालिकाले प्रत्येक वडामा ८०–८० लाख रुपैयाँको बजेट विनियोजन गर्ने निर्णयसहित आयोजना बनाउन निर्देशन दिएको थियो। तर साउन २५ गते बसेको गाउँसभा बैठकमा अध्यक्ष मेहताले आर्थिक विधेयकबाहेकका एजेण्डामाथि छलफलै नगरी बैठक बीचमै छाडेर हिँडेका थिए। वडास्तरीय बजेट कटौती गरी आफूखुसी योजना बनाउने मेहताको व्यवहारका कारण उपाध्यक्ष सर्फुल नेशा सहित पाँचै वडाअध्यक्षहरूले असोज ७ गते स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ अनुसार स्वतन्त्र रूपमा बजेट पारित गर्न गाउँसभा बोलाइदिन लेखित माग समेत दर्ता गरेका छन्।
यसअघि पनि २०८१/८२ सालमा मेहताले बजेट समयमा पारित नगरी तिहार अघिल्लो दिन मात्रै खर्च स्वीकृत गरेको घटनाले गाउँपालिकामा विवाद निम्त्याएको थियो। यस्तै शैली दोहोरिँदै गर्दा अहिले कार्यालयका कर्मचारी पाँच महिनादेखि तलब–भत्ता पाउन सकेका छैनन्। दशैं जस्तो महान पर्व नजिकिँदै गर्दा सामाजिक सुरक्षा भत्ता समेत वितरण हुन नसक्दा ज्येष्ठ नागरिकदेखि कर्मचारी परिवारसम्म ठूलो सङ्कटमा परेका छन्।
स्थानीयवासीका अनुसार “राजनीतिक अनुभव नभएका व्यापारी र अवसरवादी चरित्रका व्यक्तिलाई पैसाको बलमा टिकट दिँदा गाउँपालिकाले पटक–पटक संकट खेप्नु परेको” हो। कांग्रेस पार्टी नेतृत्वको मिलेमतोमा मेहताले गाउँपालिकाको जनादेश पाए पनि जनताको विश्वासमाथि निरन्तर धक्का दिँदै आएको भन्दै गाउँबासी आक्रोशित बनेका छन्।