पर्सा । पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको आपसी सहमति र भागबन्डा नमिल्दा हालसम्म गाउँसभा हुन सकेको छैन। गाउँसभा नहुँदा गाउँपालिका कार्यालयमा कार्यरत सयौं कर्मचारीहरूले करिब ६ महिनादेखि तलब पाउन सकेका छैनन्।
हिन्दुहरूको महान् चाड विजयादशमी चलिरहेका बेला समेत तलब नपाएपछि शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरू आर्थिक संकटमा परेका छन्। गाउँपालिकाभित्रका शिक्षकहरूले चार महिनादेखि तलब रोकिएको गुनासो गरेका छन्। एक शिक्षकले भने, “तीन महिनादेखि पसलबाट उधारो लिएर घर चलाइरहेको छु, अब उधारो दिन पनि साहुहरूले अस्वीकार गर्न थालेका छन्।”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० भित्र सबै स्थानीय तहले गाउँसभा सम्पन्न गर्नुपर्ने निर्देशन दिएको थियो। तर भागबन्डा विवादकै कारण धोबिनी गाउँपालिकाले अहिलेसम्म सभा सम्पन्न गर्न सकेको छैन। मन्त्रालयले चेतावनी दिँदै समयमै गाउँसभा सम्पन्न नगरे अनुदान रकम रोकिने जनाएको थियो।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाले जनप्रतिनिधिहरू सहमतिमा आए गाउँसभा तत्काल सम्भव हुने बताएका छन्। उनले भने, “म गाउँसभा गराउन तयार छु, तर जनप्रतिनिधिहरूबीच आपसी सहमति हुनु जरुरी छ।”
उपाध्यक्ष मन्जुदेवी कुर्मीले अध्यक्ष मदन चौहानमाथि एकलौटी गर्ने आरोप लगाउँदै उनले गाउँपालिकामा नआएर समस्या बढाएको बताइन्। तर अध्यक्ष चौहानले भने, “गाउँसभा उपाध्यक्ष र केही वडाध्यक्षकै कारण ढिलाइ भएको हो। एक–दुई दिनमै सभा गर्ने तयारी छ।”
विगत वर्षझैं यस वर्ष पनि आ–आफ्नो क्षेत्रमा बढी योजना र बजेट पार्न जनप्रतिनिधिहरू अडान लिनु विवादको प्रमुख कारण बनेको बताइन्छ। यसले गर्दा नयाँ आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट पारित हुन सकेको छैन, जसको प्रत्यक्ष असर विकास निर्माणका काम र कर्मचारीहरूको नियमित जीवनमा परेको छ।