वीरगञ्ज । वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षक धिरेन्द्र तपलियामाथि व्यापारीसँग खुलेआम घुस असुली, धम्की र अनैतिक गतिविधिलाई संरक्षण गरेको गम्भीर आरोप लागेको छ।
स्थानीय व्यापारीहरूले सार्वजनिक रूपमा गुनासो गर्दै दशैं खर्च नदिनेहरूलाई दादागिरी शैलीमा फसाइदिने, जबर्जस्ती उठाएर लग्ने र सटर तानेर अपमान गर्ने जस्ता कार्य गरिएको बताएका छन्। उनका अनुसार, धम्की दिने क्रममा गरिएको गतिविधिको भिडियो प्रमाण समेत सुरक्षित गरिएको छ।
व्यापारीहरूले आरोप लगाएका छन् कि वीरगञ्ज बसपार्क क्षेत्रमा सञ्चालित होटल–रेस्टुरेन्ट र रक्सी पसलहरू प्रहरीकै संरक्षणमा राति अबेरसम्म सञ्चालन हुने गरेका छन्। केही होटलमा प्रहरी कर्मचारी आफैं बस्ने गरेकाले ती होटलहरू राति १२ बजेदेखि १ बजेसम्म खुलेआम सञ्चालन भइरहेका छन्। सोही होटलहरूमा अनैतिक गतिविधि र यौन धन्दा समेत हुने गरेको र त्यसलाई प्रहरी संरक्षण दिएको दाबी गरिएको छ।
साना व्यापारीहरू भने उल्टै बारम्बार सिपाही पठाई असुलीको चपेटामा परेका छन्। पैसा नदिने व्यापारीलाई विभिन्न बहानामा फसाउने, समातेर लैजाने धम्की दिने कार्य भइरहेको प्रमाणस्वरूप भिडियोसमेत उपलब्ध रहेको व्यापारीहरूको भनाइ छ।
व्यापारी र स्थानीय बासिन्दाले प्रहरी प्रशासनमाथि प्रश्न उठाउँदै भनेका छन्, “ठूला होटल र रक्सी पसललाई मात्र हैन, अनैतिक धन्दा गर्नेहरूलाई समेत सुरक्षा दिने तर साना व्यापारीलाई धम्की दिएर असुली गर्ने कार्य तत्काल बन्द हुनुपर्छ।”
उनीहरूले सम्बन्धित निकायलाई घटनाबारे गम्भीर ध्यान दिन र दोषीलाई तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन्।