जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार, छठ लगायतका पर्वलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना तयार पारेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरिएको छ । मधेसमा बडादसैँ, दीपावली तथा छठ पर्वलाई भयरहित वातावरणमा मनाउन प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रदेशका ८ वटै जिल्लाका लागि सुरक्षा योजना बनाएको हो ।
८ वटै जिल्लामा ६ हजार ५३२ प्रहरीलाई चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पर्वको मौका छोपेर हुने आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्नका लागि सुरक्षा योजना तयार पारिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी कमल थापाले बताए ।
असोज ६ गतेदेखि छठ पर्वसम्मका लागि यो सुरक्षा योजना लागु हुने उनको भनाइ छ । उनले भने, ‘चाडपर्वको समयमा कुनै पनि आपराधिक गतिविधि हुन दिइने छैन । आम नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि कुनै कसर बाँकी राखिँदैन ।’
भर्खरै एउटा आन्दोलन सकिएको तर त्यसको रापताप अझै कायमै रहेकाले सर्वसाधारणमा भयको वातावरण रहेको एसएसपी थापाले बताए । ‘त्यो अवस्थालाई चिर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ,’ उनले भने ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, जनकपुर, सिरहा र सप्तरी गरी ८ जिल्ला रहेको मधेसमा प्रत्येक जिल्लामा सरदर ८ सय प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यो अवधिमा प्रत्येक जिल्ला प्रहरी कार्यालयको जिल्ला कमाण्ड पोस्ट, जिल्ला रिजर्भ पोस्ट लगायत परिचालन गर्ने योजना बनाइएको एसएसपी थापाको भनाइ छ । प्रदेशभरि ४८ वटा क्यूआरटी परिचालन, १९ वटा स्ट्राइकिङ, ११६ स्थानमा ट्राफिक सहितको चेकिङ, १२६ वटा मोबाइल गस्ती, २१२ वटा पैदल गस्ती, ३२५ वटा पिकेट गस्ती, २६ स्थानमा राजमार्ग स्कर्टिङ लगायतका सुरक्षा प्रबन्ध गरिएको उनले बताए ।
प्रदेश प्रहरी कार्यालयका अनुसार महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरूको सुरक्षाका लागिसमेत प्रहरी खटाइएको छ । त्यसका लागि ८६ वटा टोली परिचालन गरिएको छ भने बैंक, वित्तीय संघसंस्थाको सुरक्षाका १०३ स्थानमा र बजार अनुगमनका लागि १४ स्थानमा प्रहरी खटाइएको छ ।
जेनजी आन्दोलनका कारण मधेस पूरै जोखिममा रहेको सुरक्षा विश्लेषण छ । खुला सिमाना रहेकाले आन्दोलनमा लुटपाट गरिएका हतियार दुरुपयोग हुन सक्ने उच्च जोखिम रहेको प्रदेश प्रहरीको आकलन छ । त्यसकारण अपराधिक गतिविधि रोक्न तथा कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएकाले सुरक्षा योजना बनाई लागु गरिएको प्रहरी प्रवक्ता थापा बताउँछन् ।
ढुक्कले पर्व मनाउनुहोस् : डीआइजी चतुर्वेदी
भयरहित वातावरणमा पर्व मनाउनुका साथै आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी पूर्णरुपमा प्रतिबद्ध रहेको प्रदेश प्रहरीको दाबी छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले भने, ‘बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसलजस्ता बढी आर्थिक कारोबार हुने स्थान र भिडभाड हुने क्षेत्रमा चोरी, लुटपाट र पाकेटमारका लागि स्पेसल टोली खटिएका छन्, साथै बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि र ठगीका घटनाहरूलाई पूर्ण रूपमा नियन्त्रणका लागि टोली खटिएका छन् । समग्रमा चाँडपर्वलाई सुरक्षित बनाइनेछ ।’
सदरमुकामका सहायक नाकाहरूमा सरप्राइज चेकिङ, एलआरपी (लङ रन्ज पेट्रोलिङ) एसआरपी (सानो दुरीको पेट्रोलिङ ) सहितका टोली परिचालन गरिएको उनको भनाइ छ ।
डीआईजी चतुर्वेदीले सुरक्षा योजनामा सार्वजनिक सवारी साधनलाई तोकिएको भन्दा बढी भाडा लिन नदिने नीतिसमेत तय गरिएको बताए । त्यसैगरी पटका, आतिशबाजी लगायतका विस्फोटक पदार्थको आयात, ओसारपसार र प्रयोग रोक्ने तथा अवैध मदिरा उत्पादन, विक्रीवितरण, जुवातास जस्ता गतिविधिलाई रोक्न जिल्लाका प्रहरी कमान्डरहरुलाई कडा निर्देशन दिइएको उनको भनाइ छ ।
यसको साथै सीमाका संवेदनशील स्थानहरूमा विशेष प्रहरीको टोली खटाइएको उनले बताए । मुख्यतः दसैँमा हरेक क्षेत्र, ठाउँमा व्यापक संख्यामा प्रहरी परिचलान गरेर ढुक्कले पर्व मनाउने वातावरण निर्माण गरिएको उनको भनाइ छ ।