वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार बेलुकी भएको गोली प्रहार घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना किशोरलाई नियन्त्रणमा लिएको छ ।
गाउँपालिका कार्यालय पछाडिको सडकमा अपरिचित समूहको गोली लागेर भिस्वाकै १६ वर्षीय गोलु आलम घाइते भएका हुन् ।
उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । हाल आलमको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार घटनामा संलग्न आशंकामा स्थानीय तीन किशोरलाई बिहीबार राति नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
“गोली प्रहारको कारण अहिलेसम्म पुष्टि भएको छैन । नियन्त्रणमा लिइएकाहरू सबै टिनएजर्स (किशोर) हुन्,” उनले भने, “उनीहरूको गाउँमा चालचलन र आचरण राम्रो नभएको सुन्नमा आएको छ ।”
घाइते आलमले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार उनी साँझ घरतर्फ जाँदै गर्दा केही युवाबीच विवाद भइरहेका बेला अचानक गोली चलेको थियो ।
गोली कसले चलाएको भन्ने भने उनले देख्न नसकेको बताएका छन् ।
स्थानीयका अनुसार भिस्वा बजारबाट झलमहियातर्फ घर फर्किँदै गरेका किशोरी र युवतीलाई जिस्क्याउने, छेडखानी गर्ने विषयलाई लिएर भिस्वा र झलमहियाका युवाबीच विवाद हुँदै आएको थियो ।
बिहीबार बेलुकी सोही विवाद चरममा पुग्दा गोली चलेको बताइएको छ ।