वीरगन्ज । वीरगन्जस्थित कृष्णा अस्पतालका डा. प्रवीण कुमार सिंहको लापरवाहीका कारण एक बालकको अवस्था गम्भीर बनेको परिवारजनले आरोप लगाएका छन्।
वीरगन्ज–२८ बगहीका १ वर्षीय बालकलाई तीन दिनअघि ज्वरो आएपछि प्रारम्भिक उपचारका लागि अभिभावकले नारायणी अस्पताल लगेका थिए। त्यहाँका चिकित्सकहरूले थप उपचारका लागि कृष्णा अस्पतालमा रिफर गरेका थिए।
कृष्णा अस्पतालमा भर्ना भएपछि बालकको स्वास्थ्य अवस्था सामान्य नै थियो। तर, आज अचानक अवस्था गम्भीर बन्दै गएपछि परिवारजनले उपचारका जिम्मेवार चिकित्सक डा. प्रवीण कुमार सिंहलाई तत्काल जानकारी गराएका थिए। तर, चिकित्सक समयमा अस्पताल नपुगेको र अस्पतालमा भेन्टिलेटर सुविधा उपलब्ध नहुँदा बालकको अवस्था झनै नाजुक बनेको परिवारजनको आरोप छ।
बालकका अभिभावक बिशेश्वर पटेलले भने, “हामीले बारम्बार डाक्टरलाई बोलायौँ, तर उहाँ समयमा आउनुभएन। अस्पतालमा पनि आवश्यक सुविधा नहुँदा बच्चाको अवस्था बिग्रँदै गयो,” भन्दै गम्भीर लापरवाहीबारे कारबाहीको माग गरेका छन्।
हाल बालकलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको छ।
परिवारजनले यस घटनामा संलग्न चिकित्सक र अस्पताल प्रशासनविरुद्ध आवश्यक छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।