जनकपुर । मधेस प्रदेशमा नयाँ सरकार गठन दसैँपछि मात्र हुने भएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री सतिस सिंहले लिखित रूपमा राजीनामा नदिँदा नयाँ नेतृत्वको सरकार निर्माण प्रक्रिया बढ्न नसकेको हो । संवैधानिक व्यवस्थाअनुसार पदबाट मुख्यमन्त्रीले लिखित रूपमा राजीनामा बुझाएपछि मात्रै अर्को सरकार गठनको बाटो खुल्नेछ ।
तर मुख्यमन्त्री सिंहले आजसम्म आफ्नो पदबाट लिखित रूपमा राजीनामा दिएका छैनन् ।
आइतबारसम्म नयाँ सरकार गठन गर्ने तयारीमा रहेका चार दलबिच सहमति भइसके पनि पनि सिंहको राजीनामा आएन ।
चार दलबिच नेतृत्व मात्रै फेरेर पुरानै समीकरणअनुसार सरकार निर्माण गर्ने सहमति भएको थियो । उक्त सहमति भएको २४ घन्टा बढी बितिसक्दा पनि संवैधानिक अड्चनका कारण नयाँ नेतृत्वमा सरकार गठन हुन नसकेको एमाले संसदीय दलका नेता एव्म भौतिक मन्त्री सरोज यादवले बताए ।
संवैधानिक व्यवस्थाअनुसार केही दिनका लागि सरकार निर्माणको सम्भावना टरेको हो । मुख्यमन्त्रीको लिखित राजीनामाबिना अर्को सरकार बनाउन मिल्दैन ।
‘सरकारमा सहभागी दलमध्ये कुनै दलले समर्थन फिर्ता लिए सरकारले पुनः विश्वासको मत लिने संवैधानिक अधिकार छ, ३० दिनभित्र सरकारले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ,’ यादवले भने, ‘मुख्यमन्त्रीले पदबाट लिखित रूपमा राजीनामा दिए मात्रै ३० दिन अगावै सरकार निर्माणको बाटो खुला हुन्छ । त्यसकारण अहिले हामी पहिला मुख्यमन्त्रीको राजीनामाको प्रतिक्षा गरिरहेका छौँ ।’
यद्यपि मुख्यमन्त्रीलाई चार दलले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रहसमेत गरिसकेको भौतिक मन्त्री यादव बताउँछन् । एमालेसहित दलले राजीनामा दिन आग्रह गरेपछि मुख्यमन्त्रीले सरकारबाट बाहिरिने तयारी गरिरहेका स्रोतले जनाएको छ ।
जसअनुसार मुख्यमन्त्रीले सिंहले दसैँपछाडि राजीनामा दिने तयारी गरेका एमाले संसदीय दलका नेता एवम् भौतिक मन्त्री यादवले बताए ।
उनले भने, ‘मुख्यमन्त्रीज्यूसँग मेरो कुराकानी भएको छ, बिदा सुरु भइसकेकाले राजीनामा दिन सम्भव छैन भन्नुभयो त्यसैले दसैँ बिदा सकिएको भोलिपल्टै राजीनामा दिन्छु भन्नुभएको छ ।’ अर्थात् उनका अनुसार सिंह नेतृत्वको सरकारको आयु केही दिन लम्बिएको छ ।
यता मुख्यमन्त्री सिंह भने भने तत्काल राजीनामा दिने पक्षमा छैनन् । दसैँ बिदा सकिएपछि मात्रै उनले राजीनामा दिने वा विश्वासको मत लिनेबारे छिनोफानो गर्ने तयारी गरिरहेका छन् ।
कसरी बन्दैछ नयाँ सरकार ?
कांग्रेस नेतृत्वमा पुरानो समीकरण अनुसार नै सरकार गठन गर्ने चार दलबिच सहमति भएको हो । शुक्रबार नै मधेसमा चार दलबिच नयाँ सरकार बनाउने सहमति भएको थियो । कांग्रेस, एमाले, जनमत र लोसपाको समीकरणमा नयाँ सरकार बनाउने चार दलबिच लिखित सहमति नै भइसकेको छ । यद्यपि कुन दललाई कति वटा मन्त्री दिने ? त्यो सहमति भइनसकेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ । तत्कालका लागि मुख्यमन्त्रीको मात्रै टुंगो लगाइएको जनमत मधेस प्रदेशका संसदीय दलका नेता महेश यादवले बताए ।
जनमत पार्टीले आफ्नै सरकार ढालेर समर्थन फिर्ता लिएपछि त्यसको केही दिनमा कांग्रेसले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
जनमत संसदीय दलका नेता महेश यादवले गएको २८ गते प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारबाट मुख्यमन्त्री तथा मन्त्रीहरू फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएको थियो । त्यसपछि कांग्रेस संसदीय दलको बैठकलले निर्णय गर्दै यही असोज ८ गते आफ्नो समर्थन फिर्ता लिएको थियो ।
सत्तारुढ दलमध्ये दुई दल सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । प्रदेश सरकार अल्पमतमा परेपछि पुनः चार दलले बैठक गरेर नेतृत्व परिवर्तन गरेर नयाँ सरकार बनाउने सहमति गरेको हो ।
उक्त सहमति बमोजिम कांग्रेसले मधेसमा नयाँ सरकार बनाउन लागेको एमाले संसदीय दलका नेता सरोज यादव बताउँछन् ।