वीरगञ्ज । वीरगञ्जस्थित मानवसेवा आश्रममा बस्दै आएकी एक महिलाले मंगलबार नारायणी अस्पतालमा छोरी जन्माएपछि बुधबार बिहान पारिवारिक पुनर्मिलन भएको छ।
असोज १४ गते बेलुकी ५:२३ बजे पेट दुखेपछि अस्पताल पुर्याइएकी करिब ३० वर्षीया पुनिता देवी रामले स्वस्थ छोरीलाई जन्म दिएकी थिइन्। बच्चा जन्मिएको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उनका ससुरा सम्भु राम र सासु पाना देवी चमारले फेसबुकमार्फत जानकारी पाएर बुधबार बिहान ८ बजे बुहारी र नातिनीलाई लिन अस्पताल पुगेका थिए।
पुनिता देवी राम पर्सागढी नगरपालिका–५, झिंग्नी निवासी हुन्। उनका श्रीमान् राम कारण राम भारतको पहाडी क्षेत्रमा ट्र्याक्टर चालकको रूपमा कार्यरत छन्। परिवारका अनुसार पुनिता देवी मानसिक स्वास्थ्य समस्याका कारण केही समयअघि घरबाट हराएकी थिइन्।
बुहारी र नातिनीलाई घर लैजाने क्रममा अस्पताल परिसरमै भावनात्मक पारिवारिक पुनर्मिलन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष पिया सिंह, OCMC फोकल पर्सन हेमा थापा, समाजसेवी सन्तोष पटेल र पिन्टु रौनियारलगायत आश्रमका स्वयंसेवक र सुरक्षाकर्मीको उपस्थिति थियो।
मानवसेवा आश्रमले समाचार सेयर गरेर सहयोग पुर्याउने सम्पूर्ण सञ्चारकर्मी र शुभेच्छुकप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
यसअघि, असोज ११ गते राति ९ बजे वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरी र सामाजिक अभियन्ता प्रकाश थारुले गर्भवती महिलालाई उद्धार गरी मानवसेवा आश्रम वीरगञ्ज शाखामा ल्याएका थिए।