पर्सा । लगातारको अविरल वर्षा रोकिएसँगै पर्सा जिल्लाको अवस्था सामान्य बनेको छ । पानीपछिको सुधारसँगै आज (सोमबार)देखि जिल्लाभरका सबै सरकारी कार्यालयहरू खुल्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ज्योति दैनिकसँग कुरा गर्दै भने, “अब पर्सा जिल्लाको अवस्था सामान्य बनेको छ । वर्षाका कारण केही दिन सार्वजनिक सेवा प्रभावित भए पनि आजदेखि सबै कार्यालयबाट नियमित रूपमा सेवा प्रवाह सुरु गरिएको छ । नागरिकलाई आवश्यक सेवामा कुनै असुविधा नहोस् भन्ने हाम्रो प्राथमिकता हो ।”
उनका अनुसार अविरल वर्षाका कारण सडक अवरुद्ध र जनजीवन प्रभावित भएपछि सरकारले असोज १९ र २० गते जिल्लामा सार्वजनिक बिदा दिएको थियो । तर, गृह मन्त्रालयले अब अवस्था सामान्य भएकाले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले थपे, “हामीले पर्साका सबै स्थानीय तह र कार्यालयहरूलाई सामान्य अवस्थामा फर्किन निर्देशन दिएका छौँ । जनसहयोग र समन्वयका माध्यमबाट सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइनेछ।”
उनले जिल्लावासीहरूलाई संयम र सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा यस्ता विपद् परिस्थितिमा तयारी र सहकार्यलाई अझ सुदृढ बनाइने बताएका छन् ।