पर्सा, वीरगञ्ज । अविरल वर्षाका कारण डुबानमा परेका वीरगञ्ज महानगरपालिका–११ स्थित डोम बस्तीका बासिन्दालाई सामाजिक संस्था जिल्ला समन्वय समिति ( NGOCC) पर्साले खाद्यान्न राहत वितरण गरेको छ।
गत शनिबार र आइतबार लगातार परेको वर्षाले कृषि ज्ञान केन्द्र पछाडिको डोम बस्तीमा बाढी पसेर बस्तीका घरघरमा पानी प्रवेश गरेको थियो। डुबानका कारण स्थानीय बासिन्दाका लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न लगायतका घरायसी सामग्री नष्ट भएका थिए।
प्राकृतिक विपत्तिबाट प्रभावित बस्तीका पीडित परिवारहरूको सहयोगका लागि NGOCC पर्साले मंगलबार विशेष राहत वितरण कार्यक्रमको आयोजना गरेको हो। समितिका जिन्सी शाखा प्रमुख दुलारचन्द प्रसाद साहको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा ३० घरधुरीलाई खाद्यान्न वितरण गरिएको थियो।
कार्यक्रमका क्रममा प्रमुख साहले बाढीपछिको स्वास्थ्य र सरसफाइमा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरे। उनले भने,
“डोम बस्तीमा हैजा फैलिन सक्ने उच्च जोखिम छ। त्यसैले उमालेको पानी मात्र पिउनुहोस्, खानु अघि हात–मुख राम्ररी धोउनुहोस् र सरसफाइमा लापरबाही नगर्नुहोस्।”
उनका अनुसार, हाल बाढीले प्रदूषित बनाएको पानीका कारण विभिन्न सरसफाइजन्य रोग फैलिन सक्ने सम्भावना रहेकाले सचेत रहनुपर्ने आवश्यकता अत्यावश्यक बनेको छ। उनले NGOCC ले अन्य संघसंस्थासँग समन्वय गर्दै आगामी दिनमा थप राहत कार्यक्रम र हैजा तथा सरसफाइसम्बन्धी जनचेतनामूलक अभियान वीरगञ्जका ११ वटै वडामा सञ्चालन गरिरहेको जानकारी पनि दिए।
राहत वितरण कार्यक्रममा समितिका उपाध्यक्ष चन्देश चौहान, गुडी कुमारी साह, प्रिया कुशवाहा, आनन्द कुमार यादव, नन्दनी गुप्ता, सन्तोष साह, आरती कुमारी, शिवशंकर प्रसाद साह, असई लालबाबु साह, र हवल्दार कृष्ण प्रसाद यादवलगायतको उपस्थिति थियो।
राहत प्राप्त गर्नेहरूमा विनोद मली, बद्री मली, दीपक मली, विश्वनाथ मली, भुवर मली, सुरेन्द्र मेस्तर, बैधनाथ मली, गोलु मली, गजेन्द्र मेस्तर, मुकेश मेस्तर, सुरेश मेस्तर, करण मेस्तर, राधा मारुती, सामलाल मली, रमेश मली, विजय थापा लगायत ३० घरपरिवार रहेका छन्।
राहत पाएका स्थानीय विनोद मलीले भने,
“बाढीले सबैथोक बगायो, घरभित्र खान खाने केही थिएन। अहिले पाएको खाद्यान्नले केही राहत महसुस भएको छ,”
भन्दै सामाजिक संस्थाप्रति आभार व्यक्त गरे।
स्थानीय बासिन्दाले सरकारी निकायसँग पनि दीर्घकालीन समाधानका लागि आग्रह गरेका छन्। उनीहरूका अनुसार वर्षेनी बाढीले बस्तीमा क्षति पु-याउने गरे पनि स्थायी पूर्वाधार निर्माणमा अहिलेसम्म पर्याप्त ध्यान नदिइएको छ।
NGOCC पर्साले यसअघि पनि प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रहरूमा राहत र पुनःस्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले बाढीपछिको जोखिम घटाउने, स्वास्थ्य सचेतना जगाउने र विपद् व्यवस्थापनमा स्थानीयको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्य लिएको बताएको छ।
साथै, NGOCC पर्साले यसअघि सुख्खा र पानीको अभावका बेला पनि प्रभावित समुदायमा राहत र सहयोगका कार्यक्रम सञ्चालन गरेको थियो। हाल संस्था हैजा नियन्त्रण र सरसफाइका विषयमा जनचेतना अभिवृद्धि गर्न विभिन्न विद्यालय र बस्तीहरूमा सचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ। साथै, संस्थाका स्वयंसेवकहरूले घर–घर गई जनचेतना दिने गरेका छन। बस्तीमा पानीको नमूना संकलन गरी परीक्षण समेत गरेको NGOCC पर्साले जनाएको छ।