काठमाडौं। नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई खुला चुनौती दिएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओलीमाथि उजुरी परेकै भोलिपल्ट यस्तो कडा प्रतिक्रिया दिएका हुन्। उनले सरकारलाई लक्षित गर्दै भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ।’
जेनजी आन्दोलनको उजुरी र ओलीलाई चुनौती
जेनजी युवा आन्दोलनका केही अगुवाहरूले मङ्गलबार ओलीमाथि दमन गरेको आरोपमा प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले सो उजुरीलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा फरवार्ड गरेको थियो। यसैको प्रतिक्रियामा बस्नेतले आक्रोशित हुँदै सरकारलाई ओलीलाई पक्राउ गर्ने आँट भएर देखाउन चुनौती दिएका हुन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा प्रश्न
नेता बस्नेतले दलका नेताहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि आक्रोश पोखे। उनले युवाहरूको बलमा सत्तामा पुगेकाहरूमाथि पनि छानबिन हुनुपर्ने माग गरे। उनले वर्तमान अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरूबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए।
भ्रष्टाचारीको आरोप लगाउँदा प्रमाण पुर्याउनुपर्ने तर्क गर्दै बस्नेतले आफूहरूलाई ‘दूधले नुहाएको’ नभएको स्वीकार गरे। उनले भने, ‘हामी एकदमै ओभानो पनि छैनौं। हामी दूधले नुहाएको भनेका पनि छैनौं। यति त भन्न पाइयो नि त। महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर। होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त?’
पार्टीको औपचारिक धारणा आउँदै
बस्नेतले जेनजी युवा आन्दोलन र त्यसपछिको परिस्थितिको विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए। यसअघि ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेको उल्लेख गर्दै उनले भने, ‘भोलि पार्टीका महत्वपूर्ण नेताहरूले धारणा राख्नुहुन्छ। २४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठक छ। यो महिनाको अन्तिमसम्ममा एमालेले आफ्ना अफिसियल धारणा सबै सार्वजनिक गर्दछ।’