काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याल प्रतिशोध, झुट, भ्रम, असत्य र बेइमानको एक असली सेवक भएको आरोप लगाएका छन्। गृहमन्त्रीलाई केही मुट्ठीभर बुख्याचाहरूले खडा गरेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘जनादेश र संविधान विपरीत बनेको अहिलेको सरकारको गृहमन्त्री प्रतिशोध, झुट, भ्रम, असत्य र बेइमानको एक असली सेवक रहेछन्। यति बेला उनी स्वयमको प्रत्यक्ष संलग्नता र योजनामा नै केही मुट्ठीभर बुख्याचाहरू खडा गरी तिनीहरू मार्फत देशमा शान्ति भङ्ग गराउन अराजक र अनधिकृत क्रियाकलापहरू गर्न लगाउने।’
राज्यका विभिन्न अङ्गका पदाधिकारी तथा राष्ट्रसेवकहरूलाई धम्क्याउने, उनीहरूका मनोबल गिराउने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत जस्ता निष्पक्ष र स्वतन्त्र ढङ्गले काम गर्ने महत्त्वपूर्ण संस्थाका नेतृत्व हटाउन भन्दै अवाञ्छित दबाब सिर्जना गर्न उक्साउन केन्द्रित भएको आरोप छ।
पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूका विरुद्ध झुटो र षडयन्त्रमूलक कृत्रिम मुद्दा दर्ता गराउने, मिडिया ट्रायल र सोसल मिडियामा प्रायोजित र भ्रामक सामग्रीहरूसहित क्याम्पेन सञ्चालन गर्न लगाउने जस्ता अति घृणित धन्दा मिसन बनाएरै निर्वस्त्र ढङ्गले चलाइरहेका बताए।
उनले थपेका छन्, ‘देश र जनताको जिउ धनको सुरक्षाको जिम्मेवारी समेत लिएर बसेको गृहमन्त्री आफै मुलुकका सबै क्षेत्रमा भय , त्रास, प्रतिशोध र आतङ्कको साम्राज्य खडा गरी त्यसैको बलबाट मात्रै शासनमा रहिरहन सकिन्छ भन्ने खराब चिन्तनबाट उद्यत रहेको प्रस्टै देखिन्छ । जुन उनी स्वयमका लागी समेत असाध्यै भारी पर्ने निश्चित नै रहेको छ ।’