पर्सा, असोज २६ । पर्सागढी नगरपालिका–५ पचरुखी स्वास्थ्य कार्यालयको आयोजनामा आज हैजा रोग खोप तथा रोकथाम सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रम वडाध्यक्ष नितेश मिश्राको अध्यक्षतामा सम्पन्न भएको हो। वडाध्यक्ष नितेश मिश्राले भने “हैजा रोग नियन्त्रणका लागि खोप अभियान अत्यन्तै आवश्यक र प्रभावकारी कदम हो। यस अभियानलाई सफल बनाउन वडा कार्यालय, स्वास्थ्यकर्मी र स्थानीय बासिन्दाहरूबीचको सहकार्य अत्यावश्यक छ। सबैको सक्रिय सहभागिताले पर्सागढी–५ लाई स्वस्थ र सुरक्षित बनाउने हाम्रो साझा लक्ष्य हुनेछ।”
गोष्ठीअघि खोप व्यवस्थापन समितिको बैठक बसेर आगामी हैजा रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउने रणनीतिबारे छलफल गरिएको थियो।
कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अभियन्ता, विद्यालय प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
उनीहरूले हैजा रोगको रोकथाम, जनचेतना अभिवृद्धि र खोप अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।
पचरुखी स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूका अनुसार खोप अभियान असोज २७ गतेदेखि असोज ३१ गतेसम्म सञ्चालन गरिनेछ।