वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सञ्चालित Bachelor of Business Administration (BBA) कार्यक्रमको भर्ना प्रक्रियामा गम्भीर लापरवाही र मिलेमतो भएको आरोप लगाइएको छ।
क्याम्पसका BBA निर्देशक जितेन्द्र सिंहले आफ्नो पदको दुरुपयोग गर्दै विद्यार्थी संगठनका केही अगुवाहरूसँग मिलेमतोमा कुनै पनि औपचारिक प्रक्रिया पूरा नगरी विद्यार्थी छनोट गरेको आरोप विद्यार्थी अभिभावक र स्रोतहरूले लगाएका छन्।
सूत्रका अनुसार Entrance Exam को नतिजा सार्वजनिक भए पनि Short List प्रकाशित नगरी सिधै अन्तर्वार्तामार्फत ‘सेटिङ’ मिलाएर नाम प्रकाशित गर्ने तयारी भइरहेको जनाइएको छ।
‘सेटिङ’को विषय सार्वजनिक भएपछि क्याम्पस प्रशासनले पत्रकारहरूलाई प्रवेशमा रोक लगाउँदै दुर्व्यवहार गरेको आरोप पनि बाहिर आएको छ।
भर्ना प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न माग गर्दै विद्यार्थी र अभिभावकहरूले तुरुन्तै पुनः छानबिन गरी दोषीमाथि कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
सो सम्बन्धमा बुझ्दा क्याम्पस प्रमुख मोहन यादवले भने, “भर्ना प्रक्रियामा कुनै किसिमको लापरवाही हुन दिने छैनौं,” भन्दै निष्पक्ष छानबिनको आश्वासन दिएका छन्।
तर BBA निर्देशक जितेन्द्र सिंहले भने,“हाल कुनै जानकारी दिन सकिँदैन। फाइनल नामावली प्रकाशित भएपछि सबै जानकारी गराइनेछ। केही कुरा भए भेटेर कुरा गर्नुस्, सबै मिल्छ,” भन्दै टिप्पणी दिएका छन्।