वीरगञ्ज । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, पर्साले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेको छ।
उक्त उजुरी सोमबार जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिपराज पाठकलाई हस्तान्तरण गरिएको हो।
युवा संघ पर्साका अध्यक्ष सुवास साहका अनुसार केन्द्रीय सर्कुलरअनुसार मधेश प्रदेशका सबै आठ जिल्लामा सोही दिन उजुरी दिइएको हो।
साहले भदौ २४ गते भएको ‘जेन्जी आन्दोलन’ का क्रममा राष्ट्रिय सम्पत्तिमा तोडफोड, सिंहदरबार, सर्वोच्च अदालत र प्रहरी कार्यालयहरूमा आगजनी तथा क्षति पुर्याउने घटनामा बालेन साह र सुदन गुरुङको संलग्नता रहेको आरोप लगाएका छन्।
उनका अनुसार, “उनीहरूलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कडा कारबाही गर्न” संघले प्रहरी प्रशासनसँग माग गरेको छ।
उजुरी बुझाउनुअघि युवा संघले मोटरसाइकल र्याली पनि आयोजना गरेको थियो।र्याली वीरगञ्जस्थित जिल्ला समन्वय समितिको प्रांगणबाट सुरु भई नगर परिक्रमा गर्दै लाल बंगला पुगेर सम्पन्न भएको थियो।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, वीरगञ्ज महानगर इन्चार्ज बिचारी यादव, पर्सा अध्यक्ष विश्वम्भर शर्मा, एमाले नेता जालिम मियाँ, युवा संघका केन्द्रीय सदस्य रवि गुप्ता, पर्सा सचिव राकेश महतो, युवा नेता सुजित गिरीलगायत सयौं कार्यकर्ताहरूको उपस्थिति थियो।
उजुरी ग्रहण गर्दै एसपी सुदिपराज पाठकले भने, “प्राप्त उजुरी अनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ,” भन्दै आवश्यक अनुसन्धान हुने आश्वासन दिएका छन्।