काठमाडौं। दिग्गज प्रविधि कम्पनी गुगलले भारतमा एसियाकै सबैभन्दा ठूलो डेटा सेन्टर स्थापना गर्ने भएको छ ।
भारतमा आगामी ५ वर्षमा १५ अर्ब डलर लगानी गर्ने घोषणा गुगलले मंगलबार गरेको हो।
उक्त रकमले आन्ध्र प्रदेशको विशाखापटनममा एउटा विशाल डेटा सेन्टर तथा आर्टिफिसियल इन्टेलिजेन्स हब निर्माण गर्ने योजना गुगलको छ । गुगलका अनुसार भारतमा बन्ने त्यो डेटा सेन्टर अमेरिका बाहिर रहेको विश्वकै सबैभन्दा ठूलो एआई सेन्टरको हुनेछ।
गुगल क्लाउडका सिइओ थोमस केरियनले दिल्लीमा आयोजित सम्झौता कार्यक्रमका अवसरमा भनेका छन्ः यो हाम्रालागि अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हबको लगानीको हो । भारत अब विश्वको प्रविधि हब बन्ने दिशामा तिव्र रुपमा अगाडि बढिरहेको छ ।
गुगलको उक्त लगानीले आन्ध्र प्रदेशमा तिव्र रुपमा वृद्धि भईरहेको डिजिटल अर्थतन्त्रलाई थप गति दिनेछ ।
गुगलको एक गिगावाट क्षमताको उक्त डेटा सेन्टर एआई पूर्वाधारमा हरित उर्जा श्रोतको प्रयोग हुनेछ भने हाइ स्पीड फाइबर नेटवर्कले युक्त हुनेछ ।
यो परियोजना केवल डेटा स्टोरेजका लागि मात्र नभई एआईमा आधारित सेवा तथा अनुसन्धानका लागि पनि प्रयोग हुनेछ ।
यो डेटा सेन्टर यसको क्षमताका कारणले मात्र होइन, लगानी रकमको दृष्टिले पनि एसियाकै सबैभन्दा ठूलो डेटा सेन्टर हुने बताइएको छ । यो परियोजना सिंगापुर, मलेसिया तथा थाइल्याण्डजस्ता देशहरुमा चलिरहेका गुगलका अर्बौँ डलरका डेटा सेन्ट विस्तार गर्ने अभियानको हिस्सा हो ।
बढ्दो प्रतिस्पर्धाबीच गुगलको अहम कदम
गुगलले भारतमा अर्बौँ डलर लगानी गर्ने कदम यस्तोबेला उठाएको छ जतिबेला माइक्रोसफ्ट, अमेजन तथा मेटाजस्ता दिग्गन कम्पनीहरुले भारतमा एआई तथा क्लाउड पूर्वाधारमा तिव्र रुपमा लगानी गरिरहेका छन्।
गुगलले यो वर्ष ८५ अर्ब डलरको बजेट केवल डेटा सेन्टर सञ्जालको विस्तारका लागि विनियोजन गरेको छ । प्रविधि कम्पनीहरु बीचको यो प्रतिस्पर्धा एआई सेवाको बढ्दो माग पूरा गर्नका लागि हो, जसका लागि अत्यधिक कम्प्युटिंग शक्ति तथा उन्नत चिपको आवश्यकता पर्दछ।