काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘नेपोबेबी’ भन्दै बालबालिकामाथि आक्रमण गरिएको बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपोबेबी’ अभियान चलेको बताए ।
अध्यक्ष ओलीले भने, ‘दुनियाँमा फैलिएको डेंगुभन्दा खतरनाक र कोभिड जस्तै खतरनाक नेपोबेबी । अब त्यो बच्चाको के दोष ? यो समाज हो की मान्छेहरुको भीड मात्रै हो । यो सभ्य समाज होकि, असभ्यहरुको जमातको भीड हो ? अहिले बालबालिकाहरुलाई त्रसित बनाइएको छ । नेपोबेबी भनेर बालबालिकामाथि आक्रमण गरिएको छ । के सिक्दैछ हाम्रो समाज अनि हामी त्यही हल्लाको पछि लाग्ने हो ?’ साथै, उनले हाल देशमा शान्ति र स्थायित्वको आवश्यकता रहेको भन्दै सरकारले त्यसको विरोध गरेको टिप्पणी गरे ।
अध्यक्ष ओलीले देशमा आतंक फैलिएको र सरकारले त्यसलाई नियन्त्रण गर्नुको सट्टा शान्तिको पक्षमा बोलेकामा आफूप्रति रिस व्यक्त गरिरहेको उल्लेख गरे ।
अध्यक्ष ओलीले भने, ‘हामीले बेठिक कुराहरू, बेठिक हावाहरू, ‘नेपोबेबी’ जस्ता नचाहिने कुरा सिक्नु हुँदैन । यो कुनै सभ्यता पनि होइन, केही पनि होइन । देशमा अहिले आतंक छ । यस्ता गतिविधिहरू अब पनि नरोक्ने ?’
अध्यक्ष ओलीले पछिल्ला दिनहरूमा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी, लुटपाटजस्ता घटनाप्रति आक्रोश व्यक्त गरे । उनले प्रश्न गरे, ‘सामान लुट्दै, चोर्दै भाग्दै गर्न हुँदैन भनेको सुनेर सरकार रिसायो होला ? आगो लगाउनु हुँदैन भनेकोमा रिसायो होला ? शान्तिको कुरा गरेको सुनेर रिसायो होला ?’
सरकारप्रति कटाक्ष गर्दै ओलीले थपे, ‘सरकारलाई रिस उठेपनि, जसलाई उठेपनि म भन्न चाहन्छु यो देशमा नेकपा (एमाले) पनि छ । हामी लडेर भए पनि देशलाई शान्तिपूर्ण देशको रूपमा परिणत गरेरै छाड्छौँ ।’
अध्यक्ष ओलीले सामाजिक सन्तुलन भंग गर्ने र हिंसात्मक गतिविधिबाट लाभ उठाउने प्रयासहरूलाई अस्वीकार्य ठहर गरे ।
‘अर्काको सम्पत्ति लुटेर आफ्नो जीविकोपार्जन चलाउने, अधुरो खुसीका लागि हिंसा मच्चाउने, अर्काको घरमा आगो लगाउने, कस्तो रिस हो यो ? कस्तो आक्रोश हो ?’ अध्यक्ष ओलीले प्रश्न गरे ।