काठमाडौं । अधिवक्ता स्वागत नेपालले सत्य बोल्दा आफूलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न खोजेको दाबी गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो जारी गर्दै उनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीविरुद्ध उठाएको प्रश्नका कारण आफूलाई ब्यूरोले पक्राउ गर्न खोजेको दाबी गरेका हुन् ।
उनले अभिव्यक्ति स्वतन्त्रता, नैतिकता र संविधानको व्याख्या गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको सरकारलाई ‘निरंकुशतावादी प्रवृत्ति देखिएको’ टिप्पणी गरेका छन् ।
अधिवक्ता नेपालले प्रधानमन्त्री कार्कीमाथि उठेका नैतिकताको प्रश्न सामान्य आलोचना नभई संवैधानिक चरित्रसँग सम्बन्धित भएको दाबी गरेका छन् ।
उनले भने, ‘मैले नैतिकताको प्रश्न उठाएको छु, यो कुनै व्यक्तिगत आक्रमण होइन । यसअघि पनि ओली, देउवा र प्रचण्ड प्रधानमन्त्री हुँदा मैले यस्तै प्रश्न उठाएको थिएँ । पञ्चायती शासनताका पनि प्रश्न उठाउँदा मलाई पक्राउ गरिएको थियो ।’ उनले यसअघिका सरकारभन्दा पनि अहिलेको सरकार बढी नियन्त्रणमुखी बनेको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले कार्की संविधानको मर्म विपरीत प्रधानमन्त्री बनेको टिप्पणी गर्दै संविधानविरुद्धको गतिविधि स्वीकार्य नहुने पनि उल्लेख गरे । ‘संविधान बमोजिम उहाँ आफैं प्रधानमन्त्री हुन पाउनुहुन्न । संविधान बाहिरको समाधान खोज्ने कुरा मान्य हुँदैन । आन्दोलनले पनि संविधान मान्नेगरी नै आएको हो, त्यसैले संविधानविरुद्धको गतिविधि स्वीकार्य छैन ।’ कार्कीले भने ।
प्रहरीको साइबर ब्यूरोले भने अधिवक्ता नेपालको दाबी अस्वीकार गरेको छ ।
ब्यूरोका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले भने, ‘हामीसँग स्वागत नेपाललाई बोलाइएको वा सोधपुछ गरिएको कुनै आधिकारिक जानकारी छैन ।’