वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ मा जुवातास खेलिरहेका जुवाडेहरू प्रहरीको सञ्जालबाट भाग्न सफल भएका छन्। प्रहरीले भने त्यहाँबाट ८ वटा मोटरसाइकल बरामद गरेको छ।
प्रहरीका अनुसार वडा नम्बर ९ अन्तर्गत बडेर्वा र मनवा बजारको जनता सडकदेखि करिब ५० मिटर भित्र खेतमा बनाइएको खरको छाप्रोमा सोमबार राति जुवातास खेलिँदै थियो। सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको थियो।
तर प्रहरी आएको सूचना पाउनासाथ जुवाडेहरू अँध्यारोको मौका लिएर भाग्न सफल भएका थिए। त्यसपछि प्रहरीले त्यहाँ फेला परेका जुवाडेहरूका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार राति करिब १ बजे पुगेको प्रहरी टोलीले छाप्रोमा तास खेल्ने तयारी चलिरहेको अवस्था देखे पनि पैसा वा तासका सामग्री फेला पार्न सकेन। बरामद गरिएका मोटरसाइकलहरू हाल मनवा प्रहरी चौकीमा राखिएको छ।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, मोटरसाइकलका मालिकहरूको पहिचान तथा जुवामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।
स्थानीयहरूले भने गाउँको खेत क्षेत्रमा राति–राति जुवातास सञ्चालन हुने गरेको गुनासो गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीलाई थप सक्रिय हुन आग्रह गरेका छन्।