पर्सा । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकामा अध्यक्ष सुरेश मेहताको नेतृत्वमाथि गम्भीर प्रश्न उठेका छन्। स्थानीय बासिन्दाहरूले गाउँपालिकामा बजेट दुरुपयोग, फर्जी विवरण, मनोमानी र भ्रष्टाचार भएको भन्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन्।
२०७९ सालमा निर्वाचित भएपछि मेहताले जनताको विश्वास गुमाउँदै पार्टीगत स्वार्थ र व्यक्तिगत लाभमा केन्द्रित भएर काम गरेको स्थानीयको आरोप छ। गाउँपालिकाभित्र विकासका नाममा बजेट खर्च भए पनि अधिकांश योजना अधुरा, बेवारिसे र कागजमै सीमित रहेको जनाइएको छ।
ज्ञापनपत्रमा अध्यक्ष मेहतामाथि गाउँपालिकाका निर्णयहरूमा पारदर्शिता नअपनाएको, आफ्ना नातेदार र निकट व्यक्तिहरूलाई लाभ हुने गरी योजना बाँडफाँड गरेको र केही कर्मचारीहरूमार्फत फर्जी बिल तयार गरी लाखौं रुपैयाँ रकम हिनामिना गरेको गम्भीर आरोप लगाइएको छ।
स्थानीयहरूले बताएका छन्, “अध्यक्ष मेहताको नेतृत्वमा गाउँपालिकाले जनताको करको पैसा पार्टीगत प्रचार र व्यक्तिगत लाभमा खर्च गरेको छ। गाउँमा विकासभन्दा बढी विवाद र असन्तुष्टि बढेको छ।”
ज्ञापनपत्रमा विद्यालय भवन निर्माण, स्वास्थ्य केन्द्रको बजेट, शिक्षक नियुक्ति, र कर्मचारी भत्ता वितरणमा समेत अनियमितता भएको ठोस विवरणसमेत उल्लेख गरिएको छ। कतिपय योजनामा भुक्तानी भएपछि समेत भौतिक निर्माण नदेखिएको र केही योजनाको काम नहुँदै दोहोरो बिल भुक्तानी गरिएको दाबी गरिएको छ।
उनीमाथि कार्यकालभर जनप्रतिनिधिहरूमाझ मनमानी र अहंकारी व्यवहार गरेको आरोप पनि स्थानीयहरूले लगाएका छन्। “गाउँपालिकाको विकासमा सरोकारवाला जनप्रतिनिधि र स्थानीय बासिन्दाको आवाज सुन्ने वातावरण नै छैन,” एक स्थानीयले भने, “अध्यक्षको आदेशबिनाको निर्णय सम्भव छैन, जसले संस्था भन्दा व्यक्ति शक्तिशाली बनेको देखाउँछ।”
ज्ञापन बुझाउने टोलीले प्रशासनलाई गाउँपालिकाको तीन वर्षको आर्थिक विवरण, भुक्तानी, र निर्माण योजनाहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनीहरूले चेतावनी दिएका छन्— “छानबिन नगरे सडक आन्दोलनमा उत्रिनेछौं।”