पर्सा । पकहाँमैनपुर गाउँपालिकामा प्रमुख सुरेश मेहताको एकलौटी निर्णय र मनोमानीका कारण पालिकामा बिवाद चर्किएको आरोप लगाइएको छ। स्थानीय युवाहरूले पालिकामा ताला बन्दी गरी विरोध प्रदर्शन गरेपछि पालिकाको सामान्य कामकाज स्थगित भएको जनाइएको छ।
स्थानीयहरूका अनुसार गाउँपालिकामा रहेको जेसिबी (एक्साभेटर) प्रयोगका विषयलाई लिएर उत्पन्न विवाद आइतवार चरम रूप लिएको हो। हिन्दू धर्मावलम्बीको महान् पर्व छठको तयारी सुरु भइरहेका बेला छठघाट मर्मतका लागि जेसिबी पठाउने विषयमा पालिकाभित्र मतभेद देखिएको बताइएको छ।
वडा नं. ३ का अध्यक्ष संजय चौहानले वडामा पठाउन लागेको जेसिबी रोकिएपछि विवाद सुरु भएको जनाइएको छ। उनका अनुसार प्रमुख मेहताले जेसिबी आफ्नो मनपरी ठाउँमा मात्र चलाउने नीति अपनाएका छन्। यसले गर्दा वडा जनप्रतिनिधिहरू र स्थानीयबीच असन्तुष्टि बढेको छ।
स्रोतका अनुसार जेसिबी चालक नियुक्ति प्रक्रिया र त्यसमा सम्भावित आर्थिक चलखेलकै कारण विवाद बढेको हो। स्थानीयहरूले नयाँ चालकको नियुक्ति खारेज गरी पुरानो चालकलाई पुनः जिम्मेवारी दिनुपर्ने माग राख्दै पालिकामा तालाबन्दी गरेका छन्। उनीहरूले माग पूरा नभए कडा कदम चाल्ने चेतावनी दिएका छन्।
यस सम्बन्धमा वडा अध्यक्ष चौहानले प्रमुख मेहताले आफूलाई धम्की दिएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको बताएका छन्। उनले भने, “सानो विषयलाई राजनीतिक रंग दिँदै धम्कीसमेत दिइयो। प्रशासनले निष्पक्ष छानबिन गर्नुपर्छ।”
पालिका स्रोतका अनुसार गाउँसभा बारम्बार स्थगित भइरहेका छन्। केही जनप्रतिनिधिहरूले प्रमुख मेहताको निर्णय शैली र बजेट वितरणमा पारदर्शिता नदेखिएको आरोप लगाएका छन्। यद्यपि, प्रमुख मेहताको पक्षबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ।
स्थानीय नागरिकहरूले पारदर्शी प्रशासन, निष्पक्ष छानबिन र छठ तयारीमा अवरोध नआओस् भन्ने माग गरेका छन्।