काठमाडौँ । हालै अनलाइन दुनियाँमा नासाले पृथ्वीको कक्षामा दोस्रो चन्द्रमा पत्ता लगाएको हल्ला चलेको छ। तर, यस्ता हल्लाहरूलाई विश्वास नगर्नुहोला।
पृथ्वीको साँच्चैको प्राकृतिक उपग्रह एउटा मात्र छ— हाम्रो वास्तविक चन्द्रमा, जुन २,१५९ माइल चौडा छ र लगभग २,३९,००० माइल टाढा अवस्थित छ। यद्यपि, खगोलविद्हरूले वर्षौँदेखि हाम्रो ब्रह्माण्डीय छिमेकमा थुप्रै यस्ता खगोलीय पिण्डहरू पत्ता लगाएका छन्, जसलाई उनीहरूले ‘क्वाजी-मुन’ (Quasi-moon) नाम दिएका छन्।
भर्खरै देखिएको क्षुद्रग्रह २०२५ पीएन७ (Asteroid 2025 PN7) नै पृथ्वीको कथित दोस्रो चन्द्रमाको हल्लाको स्रोत बनेको देखिन्छ।
- ‘क्वाजी-मुन’ भनेको के हो?
के पृथ्वीका दुईवटा चन्द्रमा छन् ? छैनन्। तर अगस्टमा पत्ता लागेको ‘क्वाजी-मुन’ ले गर्दा पृथ्वीको दोस्रो चन्द्रमा भएको हल्लाले तीव्रता पाएको हो।
हवाईको प्यान-स्टार्स अबजर्भेटरीले यो ‘क्वाजी-मुन’ लाई पहिलो पटक देखेको थियो। पछि यसलाई सौर्यमण्डलका नयाँ क्षुद्रग्रह, धूमकेतु र अन्य साना पिण्डहरूको अवलोकन तथा रिपोर्ट गर्ने आधिकारिक निकाय माइनर प्लानेट सेन्टरमा रिपोर्ट गरियो र यसलाई २०२५ पीएन७ नाम दिइयो।
गैर-नाफामुखी संस्था प्लानेटरी सोसाइटीका अनुसार पृथ्वीका धेरै ‘क्वाजी-मुन’हरू छन्, जसले हाम्रो वास्तविक चन्द्रमाको जस्तै व्यवहार गर्छन्— जस्तो कि उनीहरूले पृथ्वीको परिक्रमा गरिरहेको जस्तो देखिन्छ। तर वास्तविकतामा, ती पिण्डहरू क्षुद्रग्रह मात्र हुन् र उनीहरूले सूर्यको परिक्रमा गर्छन्। उनीहरूको परिक्रमा पथ पृथ्वीको जस्तै हुन्छ र उनीहरू सधैँ पृथ्वीको नजिकै रहन्छन्।
यो क्षुद्रग्रह मधुरो र सानो छ जसको व्यास करिब ६२ फिट छ । त्यसैले यो धेरै वर्षसम्म पत्ता लाग्न सकेन। वेबसाइट अर्थस्काईका अनुसार, यो अन्तरिक्ष चट्टान करिब ६० वर्षदेखि पृथ्वीको छेउछाउको कक्षामा रहेको विश्वास गरिन्छ र सूर्यले यसलाई टाढा नतानेसम्म अर्को छ दशकसम्म हाम्रो छिमेकीको रूपमा रहने अपेक्षा गरिएको छ।
- ‘मिनी-मुन’ र ‘क्वाजी-मुन’ बिचको भिन्नता
सन् २०२४ मा पृथ्वीको कक्षा नजिक आएको अर्को एउटा सानो अन्तरिक्ष चट्टानलाई ‘मिनी-मुन’ भनिएको थियो। २०००४ पीटी५ नाम दिइएको यो सानो चट्टान सेप्टेम्बर र नोभेम्बरको बिचमा पृथ्वीको नजिक आएर ‘नियर-अर्थ अब्जेक्ट’ को रूपमा वर्गीकृत भएको थियो। यसले हाम्रो ग्रहलाई कुनै खतरा नदिए पनि खगोलविद्हरूलाई यसको अध्ययन गर्न आकर्षित गरेको थियो।
‘मिनी-मुन’ र ‘क्वाजी-मुन’ बिचको मुख्य भिन्नता के हो त? प्लानेटरी सोसाइटीका अनुसार ‘क्वाजी-मुन’ हरू स्थायी खगोलीय छिमेकी हुन्, जबकि 'मिनी-मुन' हरू केवल अस्थायी आगन्तुक मात्र हुन्। तिनीहरू साना र पत्ता लगाउन गाह्रो हुने भएकाले हालसम्म केवल चारवटा मात्र पत्ता लागेका छन् र तीमध्ये कुनै पनि अहिले पृथ्वीको परिक्रमा गरिरहेका छैनन्। संयोगवश, २०२४ मा पत्ता लागेको ‘मिनी-मुन’ वास्तवमा चन्द्रमाकै चट्टान हुन सक्ने अनुमान खगोलविद्हरूले गरेका छन्।