बिरगंज । तराई मधेसको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ ।
छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जानकारी दिए ।
यस योजनाअन्तर्गत प्रदेशभरका आठवटै जिल्लामा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरी नायब महानिरीक्षक थपलियाले ‘अप्रेसन आस्था’बारे जानकारी दिँदै छठपर्वको संवेदनशीलतालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको बताए । उनका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, झैझगडा गर्ने, भीडभाडमा अव्यवस्था सृजना गर्ने लगायत सम्भावित घटनालाई रोक्न यो विशेष योजना लागू गरिएको हो ।
सुरक्षाकर्मीको परिचालनमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोशाकका सुरक्षाकर्मीसमेत समावेश गरिएको छ । प्रहरी नायब महानिरीक्षक थपलियाले प्रहरी बललाई छठघाट, तलाउ, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको बताए । उनले छठपर्व आस्थासँग जोडिएको पर्व भएकाले जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न सुरक्षाका सबै संयन्त्र सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने जोकोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएको छ । थप निगरानीका लागि अत्यधिक भीडभाड हुने स्थलहरूमा सिसी क्यामेराबाट निगरानी, सुरक्षाचौकी स्थापना र मोबाइल गस्ती टोलीलाई सक्रिय पारिएको छ ।