पर्सा । आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ ।
आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ ।
सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट सुरु भएको थियो । सो दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन तथा चोखो भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन् ।
भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन सौझकारक अर्थात् ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व छठपर्व विधिवत समापन हुने छ ।
छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया-कुरबार र हाँडीलगायत सामग्री चढाउने गरिन्छ । प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, विभिन्न मिठाई तथा फलफूल चढाइन्छ ।
अर्घ्य दिने ब्रतालुहरूले ४८ घण्टासम्म जलसमेत नखाई कठोर उपवास बस्ने परम्परा रहेको छ । सबै परिकार र विधिहरू पूर्ण अत्यन्त नियम निष्ठाका साथ तयार गर्नुपर्ने गर्नुपर्ने भएकाले छठलाई अत्यन्तै निष्ठाको कठोर पर्वका रूपमा मानिन्छ ।